२ जेष्ठ २०८१, बुधबार

६ जनाको मृत्यु, पाँच घाइते, दर्जनौ घरमा क्षती



सुदूरपश्चिम प्रदेशमा पुनः अविरल वर्षा

धनगढी । कैलालीसहित सुदूरपश्चिम प्रदेशभरी शनिबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको समस्यामा बृद्धि भएको छ ।

भारी वर्षाका कारण धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा मंगलबार पनि जलमग्न भएको थियो । मंगलबार धनगढीको शिवनगर, हसनपुर, लक्ष्मीनारायण चौक, विशालनगर, पार्कचोक, लगायतका क्षेत्र जलमग्न बनेका थिए ।

अविरल वर्षाका कारण भजनी नगरपालिका वडा नम्बर ७ चर्राका ३६ वर्षीय अशोक पासीको मृत्यु भएको छ । सोमबार बेलुकी घरबाट बाहिर गएका अशोक मंगलबार गणेशमान आधारभूत विद्यालय नजिकै डुबान भएको स्थानमा मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । उनी माछा पार्न लगाएको पासोमा अल्झिएको अवस्थामा फेला परेको बताइएको छ ।

त्यस्तै, कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ बजारका राम चौधरीका छोरा ३८ वर्षीय जोगी राम चौधरीको मृत्यु भएको छ ।

उनी घरदेखि करिब पा“च सय मिटर दक्षिण सडकमा परेको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको जनाइएको छ । उनी मिर्गि रोगबाट पीडित रहेको बताइएको छ ।

धनगढी उपमहानगरपालिकामा नदीखोलामा आएको बाढीमा फसेका २४ जनाको उद्दार गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा मोहना नदी र खुटिया नदीको संगम स्थलको भंगालोमा फसेका २४ जनाको उद्दार गरिएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३४ गण हेडक्वाटर कैलालीबाट सशस्त्र प्रहरी नायव निरिक्षक किसन सिंह टेरको कमाण्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्धार गरेको थियो ।

नदीको भगालोमा करिब ५० जना नदीमा फसेका भए पनि अरुहरुले पानीको सतह घटेकोले आफ्नै घरमा बस्ने बताएका थिए ।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी खलगडामा घर भत्कि“दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मंगलबार बिहान एक बजेतिर घर भत्कि“दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर भत्किदा लोगे लुहारकी श्रीमती बिस्ना लुहार, उनका छोरा पारस, सात वर्षीया छोरी जेनिसा र पांच वर्षकी सिरु लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । घर भत्किदा अन्य पा“च जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा घरधनी लोगे लुहार, उनकी आमा, सासू आमा, सालो र दुई वर्षीया छोरी रहेका छन् ।

उनीहरूलाई उद्दार गरेर उपचारका लागि दिपायल ल्याइरहेको डिएसपी मल्लले जानकारी दिए । घाईतेको जिल्ला सदरमुकाममा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको उनका आफन्तले बताए ।

मंगलबार बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ टुडिगैरका मनिराम बिष्टको कच्ची घर वर्षाको कारणले भत्किएको छ । घर भत्किंदा गाईगोमा रहेका एक गाई मरेको बताइएको छ ।

तीन दिनको भारी वर्षाले बाजुरामा बाढीले ५५ घरमा क्षती पुगेको छ । केही पशु चौपाया बगेका छन् । एउटा पुल बगेको छ भने २० घर जोखिममा रहेका छन् ।

बझाङको जयपृथ्वी राजमार्गको पक्की बाटोमा २५ देखि ३० मिटर सेती नदीले कटान गरेको जनाइएको छ ।

कैलाली बाढीले तीन सय कुखुराको मृत्यु भएको छ । एक सय चार घर डुबानमा परेका छन् भने बाढीले दुई सय बिघा बढी जमिन कटान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार