२३ बैशाख २०८१, आईतवार

सुदूरपश्चिममा १२ जना कोरोना संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप १२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, शिक्षण अस्पताल काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले २४ घण्टामा एक सय ४६ जनाको कोरोना परीक्षण भएकोमा तीन जिल्लाका १० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिकाका तीन पुरुष, दार्चुलाकै मार्मा गाउँपालिकाका दुई पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका दुई पुरुष, कञ्चनपुरकै बेल्डाडी गाउँपालिका वडा नम्बर २ का एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ का एक÷एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रदेश बाहिरका दुईवटा प्रयोगशालामा थप दुई जनामा कोरोना पुष्टि भएको हो ।
गौतमले शिक्षण अस्पताल प्रयोगशालामा दार्चुलाका एक र भेरी अस्पताल प्रयोगशालामा अछामका एक गरी दुई जनामा कोरोना पुष्टि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार