२२ बैशाख २०८१, शनिबार

पत्रकार चौधरीमाथि सांघातिक आक्रमणको सर्बत्र निन्दा



दाेषीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग

धनगढी । पत्रकार गणेश चौधरीमाथि सांघातिक आक्रमणको सर्बत्र निन्दा गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली, थारु पत्रकार संघ, थारु पत्रकार संघ कैलाली लगायतका पत्रकारका संगठनहरुले दोषीमा माथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग सहित आक्रमणको निन्दा गरेका हुन् ।

सामाजिक सञ्जालमा समेत पत्रकार चौधरीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गर्दै निन्दा गरिएको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सचिव मिन ठकुरीले विज्ञप्ति मार्फत् आक्रमणको घोर भ्रत्र्सना गर्दै आक्रमणकारीलाई कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् । प्रदेश समितिका महासचिव योगेश रावलले घटनालाई समग्र प्रेसमाथिको आक्रमणको रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

फोनिज र थारु पत्रकार संघले आक्रमण गर्ने दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र शाही र रविन्द्र शाहलाई कारबाही गर्न माग गरेका छन् ।

टीकापुरका पत्रकार गणेश चौधरीलाई सोमबार राति उनीहरुको समूहले आक्रमण गरेको थियो । जानकी गाउँपालिका–६ जगतपुरबाट वडा नम्बर–३ स्थित घर जानेक्रममा पत्रकार चौधरीलाई आक्रमण गरेका थिए ।

साँझ करिव ८ बजेतिर घर आउदै थियौ एक्कासी आक्रमण भयो उनले भने त्यसपछि स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगायौ ।

उनले ‘म त हेलमेटले गर्दा जोगिए तर साथमा रहेका भोजराज चौधरीको टाउकोमा चोट लाग्यो उनको टाउकोमा तीन टाका लागेको छ मेरो पनि अनुहारमा चोट लागेको छ’ भने ।

आफूले आक्रमणकारी दिनेश शाह, श्रीस शाह, सुरेन्द्र शाही र दिनेश कडायतका विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको चौधरीले बताए । उनीहरुले किन आक्रमण गरे मैले बुझेको छैन उनले भने कुनै विवाद पनि थिएन ।

आक्रमणमा परेका दुवै जना नेपालगञ्ज उपचार गरेर मंगलबार फर्किएका छन् ।

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण वमले घटना वारे आवश्यक अनुसन्धान भइरहेको र आफूहरु राति घट्नास्थलमा पुग्दा आक्रमणकारीहरु भागेको वताए ।
पत्रकार चौधरी कान्तिपुर दैनिकका टीकापुर सम्वाददाता हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार