२३ बैशाख २०८१, आईतवार

प्रदेश समावेशी नीति ल्याउन माग



धनगढी । सरोकारवालाहरुले सुदूरपश्चिम प्रदेश सभाले सिमान्तकृत समुदायका सवालहरुको सम्बोधनका लागि प्रदेश समावेशी नीति ल्याउन माग गरेका छन् ।

सोमबार धनगढीमा भएको सिमान्तकृत समुदायका सवालहरु र समावेशी नीतिका सन्र्दभमा सरोकारवालाहरुसंगको अन्तरक्रियाका सहभागीहरुले समावेशी नीति ल्याउन प्रदेश सरकारले ढिलाई गरिरहेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
कार्यक्रममा आदिबासी जनजाती महासंघका प्रतिनिधि दलबहादुर घर्तिमगर, मुक्त हलिया महिला मञ्चका अध्यक्ष लक्ष्मी बिक, अपाङ्ग महासंघका नेता नन्दराज भट्ट, मुक्त कमैया समाजका इन्दु चौधरी, गैरसरकारी संस्था महासंघ कैलालीका अध्यक्ष हेमकर्ण बिक, गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष देवी खनाल, दलित नेता मनिराम देवल, धनगढी नगर कार्यपालिका सदस्य प्रेम बिक लगायतले समावेशी नीतिमार्फत सिमान्तकृत समुदायका हकअधिकार तथा सवालको सम्बोधन गर्न आग्रह गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी, प्रदेश सभा सदस्यहरु टेकबहादुर रैका, दुर्गा बिक र शान्ती नेपाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल राष्ट्रिय दलित कल्याण संघ, कैलालीका अध्यक्ष चक्र बिकले सुदूरपश्चिम प्रदेश सभाले छिटो भन्दा छिटो समावेशी नीति ल्याउन दबाव दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, कैलाली, दलित महिला अधिकार मञ्च र ओरेक नेपालको संयुक्त आयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार