२३ बैशाख २०८१, आईतवार

पत्रकार चौधरीमाथि आक्रमण



धनगढी । टीकापुरका पत्रकार गणेश चौधरीलाई गएराति एक समूहले आक्रमण गरेको छ । जानकी गाउँपालिका–६ जगतपुरबाट वडा नम्बर–३ स्थित घर जानेक्रममा उनलाई आक्रमण गरिएको हो ।

साँझ करिव ८ बजेतिर घर आउदै थियौ एक्कासी आक्रमण भयो उनले भने त्यसपछि स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगायौ ।

उनले म त हेलमेटले गर्दा जोगिए तर साथमा रहेका भोजराज चौधरीको टाउकोमा चोट लाग्यो उनको टाउकोमा तीन टाका लागेको छ मेरो पनि अनुहारमा चोट लागेको छ पत्रकार चौधरीले बताए ।

आफूले आक्रमणकारी दिनेश शाह, श्रीस शाह, सुरेन्द्र शाही र दिनेश कडायतका विरुद्ध किटानी जाहेरी दिने तयारी गरेको चौधरीले बताए । उनीहरुले किन आक्रमण गरे मैले बुझेको छैन उनले भने कुनै विवाद पनि थिएन ।

आक्रमणमा परेका दुवै जना नेपालगञ्ज उपचार गरेर आज फर्किएका हुन ।

टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण वमले घटना वारे आवश्यक अनुसन्धान भइरहेको र आफूहरु राति घट्नास्थलमा पुग्दा आक्रमणकारीहरु भागेको वताए ।

पत्रकार चौधरी कान्तिपुर दैनिकका टीकापुर सम्वाददाता हुन ।

यसैवीच नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) कैलालीले आक्रमणको विरोध गरेको छ । अध्यक्ष लखन चौधरीले विज्ञप्ती जारी गर्दै दोषीमाथि कडा कार्वाही गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार