३ जेष्ठ २०८१, बिहीबार

थरुहट/थारुवान मोर्चाको माग



तीन महिनाभित्र रेशमसहितका बन्दीलाई रिहा गर

धनगढी । थारुवान थरुहट राष्ट्रिय मोर्चाले प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरी लगायत ११ जना बन्दीहरूलाई तीन महिनाभित्र रिहा गर्न सरकारसंग माग गरेको छ ।
मोर्चाले सो अवधिभित्र सांसद रेशमसहितका बन्दीहरुलाई रिहा नगरे प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका सांसदहरुलाई थरुहट क्षेत्रमा प्रवेश निषेध गर्नेे चेतावनी पनि दिएको छ ।
थरुहट थारुवान राष्ट्रिय मोर्चासंगै आन्दोलनमा एक्यवबद्धता जनाएका नेपाल आदिवासी जनजाती महासंघ सुदूरपश्चिम प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति लगायतका आठ वटा संगठनले शनिबार धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरि सांसद रेशमलाल सहितका बन्दीको रिहाईको माग गरे ।
मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले टीकापुर घटनालाई अपराधिक घटना बनाएर प्रतिनिधि सभा सदस्य रेशम लगायतका ११ जनालाई बन्दी बनाएको आरोप दोहोराए ।
उनले बन्दीहरु सबैलाई तीन महिनाभित्र रिहा नगरे सिर्जना हुने असहज परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताए । पत्रकार सम्मेलनमा मोर्चाका संयोजक लक्ष्मणले भने– हामीले पटक पटक यसबारे सरकारको ध्यानाकर्षण गराएका छौं, तर सुनुवाई भएको छैन । अब तीन महिनाभित्र पनि हाम्रा मागमाथि सुनुवाई भएन भने निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं ।
एकअर्को प्रसंगमा मोर्चा संयोजक लक्ष्मणले वर्तमान सरकारले कोरोना महामारी नियन्त्रण, बाढी पहिरो लगायतका सवालमा गैरजिम्मेवार बनेको आरोप लगाए ।
पत्रकार सम्मेलनमार्फत थरुहट थारुवान संयुक्त आन्दोलन संघर्ष समितिले साउन २५ गतेदेखि असोज ३ गते सम्मको संघर्षको कार्यक्रम समेत सार्बजनिक गरेको छ ।
थारुहट थारुवान राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधव थारुका अनुसार साउन २५ गते प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, भदौ २ गते मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरूसंग अन्तरक्रिया गर्ने, भदौ ७ गते टीकापुर थरुहट विद्रोहलाई स्मरण गर्दै देशव्यापी बिरोधसभा गर्ने लगायतका कार्यक्रम रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार