२१ बैशाख २०८१, शुक्रबार

बुवाको मृत्युपछि आमा भागिन,तीन बालकको बिचल्ली



डोटी । लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्क बिहिन भएपछि डोटीको सायल गाउँपालिका –६ नारा गाउँका तीन जना बालकको बिचल्ली भएको छ ।

५५ वर्षीया बुवा बाजी खातीको करिव १५ महिना अगाडि रोगका कारण मुत्यु भएको हो । बुवाको मृत्यु भएको छ महिनापछि नै आमा समेत सम्पर्क बिहिन भएकी छन् ।

स्थानीय विद्यालयमा शिक्षक दीपकबहादुर खातीका अनुसार दम र क्षयरोगले पीडित बाजी खातीको मृत्यु भएसँगै सात महिनादेखि आमाले समेत छोडेर जाँदा छोराहरु अलपत्र भएका हुन । खातीले भने,–‘स्थानीय स्तरमा हामीले सकेजति गर्दैछौ तर अभिभावक नै सम्पर्कबिहिन भएपछि भएपछि बालबालिकाको बिचल्ली भएको छ ।’

श्रीमानको मृत्यु भएको केहि महिनामा नै भारतको उडिसा माइती भएकी गोमा खाती समेत नाबालक छोराहरु छोडेर सम्पर्क बिहिन भएकी हुन ।
नौ वर्षका लक्ष्मणले आफ्ना दुई जना भाइहरु दुई वर्षका कृष्ण र चार वर्षका गणेशको रेखदेखको गरिरहेका छन् । घरमा खाना पकाएर दिने अभिभावक समेत नहुँदा बालबालिकाहरुलाइ दैनिक छाक टार्नमा समेत समस्या हुने गरेको छ ।

आफ्नो साथै भाइहरुको सरसफाइ गर्ने देखि छाक टार्ने व्यवस्था गर्नका लागि लक्ष्मणलाइ समस्या परेको छ । नयाँ मान्छे देखे राम्रोसँग कुरा समेत गर्न नसक्ने अवस्थाका लक्ष्मणले छिमेकीसँगै मागरे भए पनि छाक टार्नु परेको छ ।

छिमेकीहरुले दिएको खानेकुरा खाएर पेट पालिरहेका बालबालिकाहरुलाई छिमेकीले पनि सधै भरी खाना दिएर पाल्न सक्ने अवस्था छैन । स्थानीय डबल साउदले भन्नुभयो,–‘स्थानीय बासिन्दाहरुले पनि आफ्नै छोराछोरीका लागि पनि सबैले पर्याप्त लालनपालन गर्ने अवस्था छैन, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाइ हेर्न त समस्या नै छ ।’

स्थानीय युवाहरुले बालकहरुको अवस्थाको बारेमा स्थानीय तहमा जानकारी गराइएको समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार