२१ बैशाख २०८१, शुक्रबार

संसदीय समितिद्धारा कञ्चनपुरका विकास आयोजनाको अनुगमन



प्रदेश सरकारका अधिकांश आयोजनाको काम सन्तोषजनक


महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले शुक्रबार प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत कञ्चनपुर जिल्लामा सञ्चालित विभिन्न विकास योजनाको स्थलगत अनुगमन गरेको छ ।

समितिका सभापति हर्कबहादुर कुँवर नेतृत्वमा रहेको टोलीले कृष्णपुर, वेदकोट र भीमदत्त नगरपालिकामा निर्माण भएका र हुने क्रममा रहेका विकास योजनाको स्थलगत अनुगमन गरेको हो ।

कृष्णपुर नगरपालिकाको बनरा नदीमा ४८० मिटर तटवन्ध बनाइएको छ । भने अझै नदीको तल्लो क्षेत्रमा बन्दै गरेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कञ्चनपुरका डिभिजन प्रमुख महादेव विष्टले बताए ।

तर मालुमेला, गुलरिया, रैकवारविछुवा धनगढी कृषि सडक समयमै नबनेको गुनासो स्थानीहरुले गरेका थिए ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले २२ किलोमिटर लामो सो सडक चारवर्ष अघि शुरु भएको भएपनि अझै निर्माण पुरा हुन नसकेको बताए । सो सडक ०७६ वैशाखमा पुरा भइसक्नु पर्ने थियो ।

कञ्चनपुर क्षेत्र नम्बर २ ( १) का प्रदेश सभा सदस्य महेशदत्त जोशीले सो सडकको निर्माण सक्ने गरेर आदेश गर्न भौतिक पूर्वाधार मन्त्रालय र भौतिक पूर्वाधार कार्यालयमा पटकपटक अनुरोध गरेको बताए ।

समितिले वेतकोट नगरपालिका अन्र्तगतको दैजी, लिक्ना, जोगवुढा सडक र चौधरा खोलाको कार्यप्रगति वारे पनि चाँसो राखेको थियो ।

सोही नगरपालिकाको बैज्ञनाथ बृद्धाश्रम पनि व्यवस्था र भौतिक निर्माणको अवस्था वारे कञ्चनपुर क्षेत्र नम्बर २ ( २) प्रदेश सभा सदस्य लालबहादुर खड्काले संसदीय टोलीलाई जानकारी गराएका थिए ।

बेदकोट र भीमदत्तनगरको वीचमा बैज्ञनाथ मन्दिर जानका लागि ७० लाख रुपैयामा निर्माण पुरा गर्न तोकिएको समय अगावै झोलुंगे पुल बनाइएको भौतिक पूर्वाधार कार्यालय कञ्चनुरका इन्जिनियर हेमराज भट्टले बताए ।

यस्तै कञ्चनपुर क्षेत्र नम्बर ३ ( १) का प्रदेश सभा सदस्य प्रकाश रावलले महेन्द्रनगरमा रहेको रंगशाला निर्माण, निर्वाचन क्षेत्र स्तरीय खेलमैदान र व्रहमदेव म्यूजियम निर्माणको अवस्था बारे जानकारी गराएका थिए ।

भीमदत्तनगरपालिका वडा नम्बर ९ का धर्म नाथले निर्वाचन क्षेत्र स्तरीय खेलमैदानले खेल खेल्न मात्रै होइन सीमा रक्षाको काम समेत गरेका बताए ।

सो खेल मैदान भीमदत्तनगरपालिका, प्रदेश सरकार र संघीय संसदका सदस्य दीपकप्रसाद भट्टको बजेटबाट बनिरहेको बताए । सो खेल मैदानबाट केही पर दशगजा क्षेत्र रहेको छ । खेल मैदान बनाउनका लागि तटवन्ध समेत गरिएको छ ।

समितिलाई स्थानीयबासीहरुले राष्ट्रिय खेलकूद परिषदबाट एक करोड ६५ लाख खर्चमा बनेको चेन्जिङरुप र माटो पटानमा अनियमितता भएकोले प्रदेशले समेत दोषीमाथि कारवाहीका लागि पहल गर्नु पर्ने बताएका थिए ।

यस्तै दोदोधारा चाँदनीमा बन्ने भनिएको सुख्खा बन्दरगाहाका लागि महाकाली नदीमा बन्दै गरेको राष्ट्रिय गौरवको चार लेनको पुल र महाकाली किनारमा चार लेनकै सडकको प्रगति बारे पनि समितिले जानकारी लिएको थियो ।

समितिले ढुंगा, बालुवा पाउन कुनै गाह्रो भएको भए समन्वय गरिदिने आश्वासन पनि निर्माण कार्यमा संलग्न पक्षलाई दिएको थियो । कञ्चनपुर ३ (२) का प्रदेश सभा सदस्य मानबहादुर सुनारले सो आयोजनाको काम राम्रोसंग भइरहेको बताएका थिए ।

समितिका सभापति हर्कबहादुर कुँवर गोविन्दले प्रदेश सरकारका धेरै निर्माण कार्य सन्तोषजनक रहेको बताउदै केहिमा समस्या रहेकोले ती समस्या समाधान गर्न भौतिक पूर्वाधार मन्त्रीलाई समितिमा बोलाएर छलफल गर्ने बताए ।

अनुगमन टोलीमा प्रदेश सभा सदस्यहरु दीर्घ सोडारी, महेशदत्त जोशी, अक्कल रावल, पूर्णा जोशी, प्रकाश रावल, लालबहादुर खड्का र मानबहादुर सुनार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार