२० बैशाख २०८१, बिहीबार

प्रदेश सभा बैठक सञ्चालन



प्रतिपक्षि दलले भन्याे- बाढीपहिराे र काेराेनामाथि छलफल अघि बढाउन सदन सञ्चालनमा सहमत भयाै

धनगढी । लगातार अवरोध भइरहेको प्रदेश सभा बैठक मंगलबारदेखि सञ्चालन भएको छ । असार २४ गते प्रतिपक्षीको विरोधकाबिचनै प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको थियो ।

असार १० गतेदेखि प्रतिपक्षीको लगातारको अवरोधका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको थिएन । बजेट पारित भएपछि अनिश्चितकालिन स्थगित गरिएको प्रदेश सभाको बैठक २७ दिनपछि बसेको छ ।

आज बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका छैनन । पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, कोरोना नियन्त्रणका लागि गरिएको खर्चको विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै प्रतिपक्षीले सदन अवरोध गरिरहेको थियो ।

मंगलबारको बैठकको विशेष समयलाई सम्बोधन गर्दै प्रतिपक्षी दल नेपाली काँग्रेस संसदिय दलका नेता रणबहादुर रावलले सदनलाई बन्धक बनाउन नहुने भन्दै सञ्चालन गर्न सहमत भएको बताए ।

‘हामीले कोरोनाको विषयमा प्रदेश सरकार गम्भिर नभएकोले अवरोध गर्दै आएका थियौं । हामीले माग गरेका कुरामा सरकार गम्भिर भएन’ उनले भने –‘तर, अहिले कोरोनामात्र नभइ बाढी र पहिरोको जोखिम पनि बढेको छ ।’ उनले सदनलाई प्रतिपक्षीले पनि बन्धक बनाउन नहुने बताउँदै –‘हामीले बाढी पहिरो र कोरोना लगायतका विषयमा छलफल अघि बढाउन सदन सञ्चालन गर्न सहमत भएका हौं ।’

उनले अझै सरकार गम्भिर नभए सदन अवरोध गरिने बताउँदै ‘हामीले बाँध्य भएर सदन अवरोध गर्नुपरेमा जिम्मा प्रदेश सरकारले लिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार