१९ बैशाख २०८१, बुधबार

कोरोना संक्रमणः बालबालिका र बृद्धबृद्धामा संक्रमणमा बृद्धि



धनगढी । सरकारले कोरोना संक्रमणको जोखिम बालबालिका र वृद्धवृद्धामा बढीरहेको भन्दै घरबाहिर ननिस्कन आग्रह गरिसकेको छ । देशभरीको कोरोना संक्रमणको तथ्यांकमा सुदूरपश्चिम प्रदेशमा बालबालिकामा कोरोना संक्रमण दिनप्रतिदिन बृद्धि भइरहेको देखिएको छ ।

सोमबारसम्म देशभरी आठ सय ३३ बालबालिकामा कोरोना संक्रमण रहेकोमा सुदूरपश्चिम प्रदेशमा मात्र १० वर्ष मुनिका चार सय १४ जना बालबालिकामा संक्रमण रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, कोरोना संक्रमित ६० वर्षमाथिका ९६ जना ज्येष्ठ नागरिक रहेका छन्् ।

प्रदेशको सबैभन्दा बढी डोटीमा ९८ जना, कैलालीमा ८६, अछाममा ७२, बाजुरामा ६४, बझाङमा ३९, कञ्चनपुरमा २४, डडेल्धुरामा १६, बैतडीमा १५ र दार्चुलामा एक जना बालबालिकामा कोरोना संक्रमण रहेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार डोटीमा ४४ बालिका र ५४ बालकमा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै, कैलालीमा ३१ बालिका र ५५ बालक, बाजुरामा ३२ बालिका र ३२ बालक, बझाङमा १४ बालिका र २५ बालक, दार्चुला १ बालक, बैतडीमा ५ बालिका र १० बालक, डडेल्धुरामा ५ बालिका र ११ बालक, अछाममा २२ बालिका र ५० बालक र कञ्चनपुरमा ११ बालिका र १४ बालकमा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोनाका कारण नौ जनाको मृत्यु भइसकेको छ । जसमा एक जना बालिका र एक जना ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाजुराको बूढीगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिका र बझाङको ६५ वर्षीया ज्येष्ठ नागरिकको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी युवाहरुमा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २० देखि ३० का एक हजार पाँच सय २१ पुरुष र चार सय ६७ महिला, ३० देखि ४० का सात सय ३७ पुरुष र दुई सय १२ महिला रहेका छन् ।

थप ६४ मा कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ६४ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

तीन वटा प्रयोगशालामा भएको परीक्षणमा सबैभन्दा धेरै कैलालीका ४५, कञ्चनपुरका १५ र अछामका चार जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ३५ र कञ्चनपुरका आठ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि कैलालीका थप एक जनामा कोरोना पुष्टि भएको प्रवत्ता गौतमले बताए ।

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ६२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका नौ, कञ्चनपुरका सात र अछामका चार जना गरी २० जनामा संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको गोदावरी नगरपालिकाका तीन महिला र छ पुरुष गरी नौ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन पुरुष, वेदकोट नगरपालिकाका तीन पुरुष, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष तथा अछामको साफेबगर नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार