३ जेष्ठ २०८१, बिहीबार

बजार खुल्यो, व्यापार फष्टाएन



धनगढी । कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन चार महिनापछि खुलेको छ । लकडाउन खुलेसंगै बजार खुलेका छन् । बजारमा मान्छेको चहलपहल बढेको छ । पसल, रेष्टुरेन्ट, होटल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरू सबै खुलेका छन् ।

लकडाउन खुले पनि कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भने हरेक दिन थपिदै गएका छन् । संगसंगै संक्रमणबाट निको भएर घर फर्किनेहरूको संख्यामा पनि बढेको छ ।

बजार खुलेको छ, तर व्यापार व्यवसायले गति लिन सकेको छैन । चार महिनासम्मको लकडाउनका कारण आमनागरिकको आयस्रोत घटेको छ । अर्कोतिर अझैं पनि कोरोना संक्रमणको त्रास बाँकी छ । व्यवसायीहरू अझैं पनि व्यापारले गति लिननसकको बताउँछन् । खाद्यान्न सहित दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल, डेरी, तरकारी तथा फलफूल पसलमा सामान्य व्यापार भइरहे पनि पहिलेको तुलनामा व्यापार निकै घटेको व्यवसायीहरू बताउछन् ।

कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बजारमा पहिलेको तुलनामा २५ प्रतिशत पनि व्यापार नभएको बताए । उनले भने– चार महिनापछि खुलेको बजारले अझैं गति लिएको छैन ।

कपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक्स, फर्निचर, पुस्तक तथा स्टेशनरी लगायतका पसल तथा वर्कसप, गार्मेन्ट लगायतका उद्योगहरूको व्यापार निकै कम रहेको छ । टुर एण्ड ट्राभल्सहरूको व्यवसाय त सून्य छ ।

लकडाउन खुलेसंगै कैलालीका ७५ प्रतिशत भन्दा बढि होटलहरू खुलेका छन् । तर, ससाना चियापसल, भोजनालय बाहेक ठूला होटल, लजहरूमा व्यापार हुन सकेको छैन । होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बहादुर बमले रेष्टुरेन्टहरू फाटफुट रुपमा चल्न थालेको भए पनि लज र ठूला होटल चल्न नसकेको बताए ।

उनले हाल खुलेका होटलहरूका सबै कर्मचारीहरूलाई समेत काममा नफर्काइएको बताउदै काममा आएका कर्मचारीहरूलाई सरसफाई तथा होटल सेनिटाइजेशन सम्बन्धी तालीम दिइरहेको बताए । उनले होटलको टेबल, रुम र समग्र होटल सेनिटाइज गर्न कर्मचारीहरूलाई तालीम दिइरहेको बताए ।

होटल व्यवसायी संघ कैलालीले जिल्लामा करिब १० अर्ब भन्दा बढि लगानी रहेको जिल्लामा १२५ दिनको लकडाउन अवधिमा साढे तीन अर्ब व्यापार घाटा भएको जनाएको छ । व्यवसाय बन्द रहेकाले व्यवसायीहरूलाई ऋणको व्याज तिर्न, सरकारलाई कर तिर्न र दैनिक गुजारा समेत चलाउन गाह्रो हुन थालेपछि कोरोनासंग लड्दै व्यवसाय खोल्न थालेको संघले जनाएको छ ।

“व्यवसाय सधैंभरि बन्द राख्न नसकिने स्थिति रहेकाले होटलहरू खोलेका छौं’ अध्यक्ष बमले भने– सधैंभरि लकडाउन भएमा करोडौं ऋण लिएर होटल चलाएका व्यवसायीहरूलाई निकै समस्या हुने भएकाले होटल खोलिरहेका छौं ।

व्यवसायीहरूले होटल खुलेको भएपनि होटल चल्ने वातावरण अझै बन्न नसकेको बताएका छन् । धनगढीमा होटल फ्लोरा सञ्चालन गरेका कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुवरले होटलमा मुस्किलले २–४ जना मात्रै आइरहेको बताए । उनले मानिसहरूले घुम्ने, रमाउने वातावरण अझै नबेको हुनाले होटल व्यवासय अझै चल्न नसक्ने देखिएको बताए । यद्दपि, होटल बन्दै राख्न सक्ने स्थिति पनि नरहेको बताए ।

उद्यागे बाणिज्य संघका अध्यक्ष कुँवर र होटल व्यवसायी संघका अध्यक्ष बम दुबैले सडक यातायात र आन्तरिक तथा अन्तराष्ट्रि«य हवाई सेवा र सिमानाकाहरू नखुलेसम्म होटल व्यवसायले गति लिन नसक्ने बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष कुवरले कोरोना महामारीको सन्त्रासपछि कम्तिमा छ महिनापछि मात्रै व्यापार व्यवसाय लयमा फर्किने आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार