१५ बैशाख २०८१, शनिबार

लाखौंलाई ठग्ने नेटवर्किङ व्यापारीकाे पक्षमा मन्त्री भट्ट लागेको आरोप



मन्त्री भट्टले भने– यथार्थ नबुझी वस्तुको प्रत्यक्ष विक्रीसम्वन्धी व्यवसायको टिकाटिप्पणी भयो

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लाखाैं सर्वसाधारणलार्इ ठग्ने नेटवर्किङ व्यापारीकाे पक्षमा उभिएका छन् ।

बिहीबार संघीय संसद्काे उद्योग, बाणिज्य, श्रम तथा उपभोक्ता हित समितिकाे बैठकमा मन्त्री भट्टले नेटवर्किङ व्यवसायकाे पक्षमा मत राखेका हुन् । उनले एमसीसी जस्तै बुझ्दै नबुझी वस्तुको प्रत्यक्ष विक्रीसम्वन्धी नेटवर्किङ व्यवसायको टिकाटिप्पणी भएको बताएका छन् ।

समितिमा नेटवर्किङ व्यवसाय बारेको छलफलमा बोल्दै उनले नेटवर्किङबारे नबुझी टिकाटिप्पणी गरेको बताएका हुन् । बैठकमा सांसदहरुले विगतमा नेटवर्किङ व्यवसायबाट धेरै पीडित भएको सन्दर्भ कोट्याउँदै अहिले फेरि मन्त्रालयले कमिसनको चक्करमा सोही व्यवसायलाई स्वीकृति दिएको हो भन्दै प्रश्न गरेका थिए । जवाफमा मन्त्री भट्टले मन्त्रालयले कानुन कार्यान्वयन मात्रै गरेको बताए ।

संसदले नै २०७४ सालमा वस्तुको प्रत्यक्ष विक्रीसम्वन्धी व्यवसाय सञ्चालनका लागि कानुन बनाएकाले अहिले मन्त्रालयले कार्यान्वयन गरेकाले त्यसमा कमिसनको चक्कर रहेको भन्ने प्रश्नै नरहने उनको दावी छ। ‘मन्त्रालयले कानुनको कार्यान्वयनमात्रै गरेको हो । मिडियामा नेटवर्किङ कम्पनी गर्दा मन्त्रीले अर्बौ खाएको भन्ने समेत आए । थोरै पुँजी भएको कम्पनी दर्ता गर्दा मैले कसरी अर्बौ खान्छु ?’, उनले भने ।

उनले नेटवर्किङ व्यवसायबारे पहिलेको भूत धेरैमा अहिले पनि सवार रहेको पाइएको भन्दै अहिलेको नेटवर्किङ व्यवसायमा ठगी हुने सम्भावना नरहेको समेत दावी गरे । एमसीसी बुझ्दै नबुझी आफूलाई ज्यान मार्ने धम्की समेत आएको उनले समितिमा बताए ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा सांसदहरूले मन्त्री भट्ट र मन्त्रालयका अधिकारीले अर्बौं कमिसन लिएर वस्तुको प्रत्यक्ष बिक्री तथा वितरणसम्बन्धि व्यवसायका नाममा उपभोक्तालाई ठगी गर्ने नेटवर्कीङ व्यवसायलाई अनुमति दिएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार