४ जेष्ठ २०८१, शुक्रबार

धौलीगंगा बाँध पुनः खोलिदै



धनगढी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिदैंछ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध र आजराति १२ बजेदेखि भोली बेलुकी ६ः४५ बजेसम्म खोलिने भएको हो ।

पावरस्टेसनको पत्रअनुसार शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । बाँध खोलेपश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने भएकोले सतर्क रहन आग्रह गरिएको छ ।

बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्याँस गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ । यस्तै दार्चुला र बैतडीका साथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनले नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

उता, परियोजनाले बाधँमा पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । विसं २०७० मा धौलीगंगाको कै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो ।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।

यसअघि गत असार १५ गते राती १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म खोलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार