४ जेष्ठ २०८१, शुक्रबार

सुदूरपश्चिमभरी कहा कति क्षति



धनगढी । मंगलबार रातिदेखि लगातार परेकाे वर्षाका कारण सुदूरपश्चिम प्रदेशकाे कैलाली, कञ्चनपुर, अछाम, बझाङ, दार्चुला, बाजुरा लगायतमा धनजनकाे क्षति भएकाे छ ।

वर्षातका कारण पहिराे तथा बाढीका कारण मानव वेपत्ता भएका छन भने पशुचाैपाया, घर लगायतमा क्षति पुगेकाे प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

कैलालीमा बाढीले सयौँ घर डुवानमा, चार जना बेपत्ता

वर्षाका कारण कैलालीको जनजीवन नराम्रो गरी प्रभावित भएको छ । वर्षाका कारण जिल्लाका धेरैजसो भूभाग जलमग्न भएका छन् ।

अविरल वर्षाका कारण कैलालीका विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा सयौँ घर डुवानमा परेका छन् भने चार जना वेपत्ता भएका छन् । जिल्लाको भजनी नगरपालिकाका फरकफरक ठाउँमा चार जना वेपत्ता भएका हुन् ।

ईलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनक धामीका अनुसार ११ वर्षीय बालक स्केल चौधरीसहित चार जना वेपत्ता भएको जानकारी दिए ।

अन्यको पहिचान हुन नसकेको बताउँदै उनले भने, ‘थप दुई जनाको समेत वेपत्ता रहेकोमा उनीहरको सकुशल उद्धार गरिएको छ ।’ वेपत्ता अन्यको खोजीकार्य जारी रहेको धामीले बताए ।

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र कैलालीले बुधबार साझसम्म बाढीका कारण जिल्लाभर आठ सय घर प्रभावित भएको जनाएको छ । प्रभावित घरपरिवारलाई नजिकैको विद्यालय, सामुदायिक भवन स्थानान्तरण गरेको कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

प्रमुख जिल्ला अधिकारी बोहराले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतलाई परिचालन गरी उद्दार गर्नुका साथै राहत सामाग्री वितरण गरेको जानकारी दिए ।

जिल्लाको कान्द्रा, काडा र पथरैया लगायतका नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका हुन् । धनगढी उपमहानगर क्षेत्रमा रहेका खोला अतिक्रमणको चपेटामा परेपछि उप–महानगरमा पनि दर्जर्नाै घरमा पानी पसकेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले सुदूरपश्चिमका अधिकासं क्षेत्रमा वर्षा भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

टीकापुरमा ६५ घर भत्किए

अविरल वर्षाका कारण कैलालीमा हजारौं घर डुवानमा परेका छन् । वर्षापछि आएको वाढी कारण कैलाली जिल्लाको टीकापुर, भजनी, लम्की चुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् ।

वर्षाका कारण टीकापुर नगरपालिकाका ९ वटै वडा डुबानमा परेको टीकापुर नगरपालिकाकी विपद सम्पर्क व्यक्ति निर्मला चौधरीले बताइन ।
टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पुरै डुबान भएको छ । त्यस्तै शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ५० घर भत्किएका छन् । यस्तै वडा नम्बर २ मा १२, वडा नम्बर ६ मा ३ घर भत्कीएका नगरपालिकाले जनाएको छ । डुवानका परेका घरको तथ्यांक संकलन भइरहेको पनि नरपालिकाले जनाएको छ ।

वडा नं. २ को सितापुर, वडा नं. ५ शाहीपुर, सिम्रेनी, वडा नं. ६ को भगवानपुर, प्रतिपुर, वडा नं. ७ को बेलुवा, वैद्धी, वडा नं ८ अर्नुवा र वडा नं. ९ को खक्रौला गाउँमा सयौँ घर डुवानमा परेका छन् ।

जानकी गाउँपालिकाको वडा नं. ३, ४, ७, ८, ९ का सयौ घर डुवानमा परेका छन् । स्थानीय भोजबहादुर चौधरीका अनुसार भदौरे, धर्मापुर र अमरावती कुलामा पानीको सतह उच्च भएपछि जानकी गाउँपालिकाका बस्ती डुवानमा परेका हुन् ।

उता, जोशीपुर गाउँपालिकाका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदी सतह भन्दा माथि पुगेपछि जोशीपुरमा १, ३, ५, ७ नं. वडा डुवानमा परेका छन् ।

भजनी नगरपालिकाको वडा नम्बर २ को मोहनपुर, वडा नं. ३ को ढुसी गाउँ, वडा नम्बर ५ को फुलियापुर गाउँमा बाढी पसेको छ । ढुसी गाउँको कान्द्रा नदीमा बनाइएको चेकड्याम भत्काएर बाढी वस्तीमा पसेको भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले जानकारी दिए ।

भजनीको वडा नम्बर २ र ३ मा काँढा नदीको बाढी र वडा नम्बर ५ मा कान्द्रा नदी बढेर बाढी आउँदा मोहनपुर, ढुसी र काँडा गाउँमा सयौं घर डुवानमा परेका छन् । नदीहरुमा पानीको सतह बढ्दै गएको र गाउँ डुबान भइरहेकाले स्थानीय तहले सुरक्षित उपाय अवलम्बन गर्न आग्रह गरिरहेका छन् ।

स्थानीय तहले जोखिममा रहेका बस्तीलाई सार्न थालेका छन् । टीकापुरमा घर भत्किएका परिवारलाई अहिले छिमेकीको घरमा सारिएको छ भने भजनीमा जोखिममा रहेका बस्तीलाई सुरक्षित भवनमा सार्ने कार्य शुरु गरेको भजनीका नगर प्रमुख चौधरीले बताए ।

हेराैं कहा कति क्षति

sudurpaschim-pradesh-police-office

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार