२३ बैशाख २०८१, आईतवार

कोरोना संक्रमणबाट थप एकको मृत्यु



धनगढी । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो ।

साउन ९ गते निधन भइसकेका बझाङको बुंगल ३ का ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । उनको घरमै निधन भएको थियो। गत असार २४ गते भारतको बैंग्लोरबाट बझाङ आइपुगेका ती पुरुषमा दमको समस्या थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । आज ३ सय ११ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो । मंगलबार पीसीआर विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण भएको छ । योसँगै आजसम्म पीसीआर विधिबाट ३ लाख ५३ हजार ३ सय ७ जनाको कोरोना परीक्षण भएको छ ।

५ हजार १ सय २९ जना अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार १ सय २१ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ८ सय ७५ रहेको छ । देशभरीका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार