१० श्रावण २०८१, बिहीबार

हस्तान्तण नहुँदै सडक उप्किन थाल्यो



धनगढी । कैलालीको धनगढीदेखि कैलारी गाउँपालिका जोड्ने हुलाकी सडकको कालोपत्रे ठाउँ–ठाउँमा उप्कदै गएको छ ।

हुलाकी सडक अन्तर्गत कैलालीको धनगढी क्याम्पसरोडदेखि कटैनीसम्मको सडक सम्बन्धित कार्यालय (सडक डिभिजन कार्यालय) लाई हस्तान्तरण नहुँदै ठाउँठाउँमा कालोपत्रे उप्किदै गएकोे छ ।

सो सडकखण्डमा रहेका केही कल्भर्टमा चिरा समेत परेका छन् । कतिपय कल्भर्टमा चिरा परेर ढलानको सरिया (फलामे छड) बाहिर निस्केको छ । कल्भर्टबाट निस्केका सरियाका कारण सवारी साधन चलाउन समेत निकै कठिनाई हुने गरेको चालकहरुले बताएका छन् । सो ‘कल्भर्टमा चिरा परेर निस्किएका सरीयाका कारण सो क्षेत्रमा दैनिक दुर्घटनाको जोखिम बढेको छ’ स्थानीय रुपमा तामाङले बताइन् ।

धनगढी फूूलबारी सडक खण्डमा पहिलोपटक यात्रा गर्ने सवारी चालकलाई झनै सास्ती हुने गरेको धनगढी वडा नम्बर १५ का कलह चौधरीले बताए । उनले भने– धनगढीबाट फूलबारी–हसुलियातर्फ आउने यात्रुले ठाउठाउमा भत्किएका सडकका कारण निकै कष्ट भएको दुखेसो गर्ने गरेका छन् ।

हुलाकी सडक कार्यालयले गत भदौमा सो सडक मर्मतका लागि एक निर्माण कम्पनीसंग सम्झौता गरेको थियो ।

हुलाकी सडक डिभिजन कार्यालयले ३१ किलोमिटर लामो सडक मर्मतको लागि ४० लाख रुपैया बजेट विनियोजन गरेकोमा २४ लाख ५८ हजार चार सय रुपैयाँमा ठेक्का स्वीकृत गरेको थियो । ठेक्का पाएको निर्माण कम्पनीले पिच उप्केका ठाउँमा मर्मत गरेको हुलाकी सडक आयोजनाले जनाएको छ । ‘पिच उप्केका ठाउँमा निर्माण कम्पनीले मर्मत गरेको थियो । तर, अहिले पुनः अन्य स्थानमा पिच उप्कने क्रम रहेको छ’ आयोजना कार्यालयका सूचना अधिकारी पदम मडैले भने ।

गत भदौमा सडक मर्मताका लागि दुई चरणमा ठेक्का गरिएको थियो । क्याम्पसरोडदेखि फूलबारीसम्मको १५ किलोमिटर सडक मर्मतका लागि १२ लाख ६२ हजार नौ सय तथा फूलबारीदेखि कटैनीसम्मको सडक मर्मतका लागि ११ लाख ९५ हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

सडक चौडा बनाउन शुरु

कैलालीको धनगढीदेखि टीकापुरको सत्तीसम्मको ४४ किलोमिटर हुलाकी सडक स्तरोन्नति गर्ने कार्य अघि बढेको छ ।

हुलाकी सडक आयोजना कार्यालय अन्र्तगत सडक स्तरोन्नतिका लागि ठेक्का भइ निर्माण कार्य अघि बढीसकेको जनाएको छ । हुलाकी सडक स्तरोन्नति अन्र्तगत क्याम्परोडदेखि तीन किलोमिटर चार लेन बनाइने छ भने अन्य ४१ किलोमिटर सडकलाई दुई लेनका रुपमा स्तरोन्नति गरिने छ ।

हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी मडैले भने –‘चार चरणमा ठेक्का गरिएको छ ।’ क्याम्पसरोडदेखि कनरीसम्म ३७ करोड, कनरीदेखि फूलबारीसम्म ३२ करोडको सम्झौता भएको छ । यस्तै, कान्द्रा नदीदेखि सत्तीसम्म ३२ करोड ६२ लाखमा सम्झौता गरिएको छ भने फूलबारीदेखि कटैनीसम्म २७ करोड ९६ लाख ७५ हजारमा सम्झौता गरिएको जनाइएको छ ।

यी सबै सडक तीन वर्षभित्र सम्पन्न गर्ने गरी शौचन्दा जोशी जेभीले ठेक्का सम्झौता गरेको छ ।

हुलाकी सडक कार्यालयका सूचना अधिकारी मडैले भने –‘निर्माण कम्पनिले कार्य अघि बढाउन अहिले सर्भे गरिरहेको छ ।’ उनले हुलाकी सडक अलकत्रा प्रविधिमा निर्माण गरिने बताए । ‘अहिलेको हुलाकी सडकभन्दा नयाँ प्रविधिबाट काम हुने छ’ उनले भने ।

धनगढीको क्याम्पस रोडदेखि कटैनीसम्मको ३१ किलोमिटर हुलाकी सडकको चौडाई अहिले जम्मा तीन दशमलव ७५ किलोमिटर रहेको छ । अहिले नेपाल सरकारबाट निर्माणाधीन हुलाकी सडकको चौडाई सात मिटर रहेको छ ।

‘प्रतिनिधि सभा सदस्य नारदमुनि रानाको नेतृत्वको टोलीले सो सडकको डिपिआर तयार गरेको थियो’ मडैले भने ‘सोही आधारमा सडकको चौडाई बढाउने भनि मंसिरमा बोलपत्र आह्वान गरिएको थियो ।’ उनका अनुसार बोलपत्र मंसिरमै जारी गरिएपनि सम्झौता भने असार ३० गतेमात्र भएको थियो ।

उनले भने –‘पुरानो सडकलाई पनि अलकत्रा प्रविधिमार्फनै स्तरोन्नति गरिने छ । जबसम्म एक साइडको सडक निर्माण हुँदैन पुरानो सडकलाई निर्माण कम्पनिले मर्मत गर्ने काम गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार