२८ माघ २०८१, सोमबार

किरा धपाउन गुरही



धनगढी । कृषिबाली र समुदायमा नकारात्मक असर गर्ने किरालाई भगाउने विश्वासकासाथ पश्चिम नेपालको तराईका थारु समुदायले शनिबार ‘गुरही पर्व’ मनाएका छन् ।

हरेक वर्ष नाग पञ्चमीका दिन मनाइने ‘गुरही पर्व’ थारु समुदायले ‘गुरही’ नामको फट्यांग्रा प्रजातिका किरालाई केराको पातको सिन्काले चुटेर र कृषिवालीको पुजा गरेर मनाएका हुन् । नेपालमा नागपञ्चमीपछि सर्पहरू पृथ्वीबाट गुप्तबास लाग्ने विश्वास रहे जस्तै थारु समुदायमा किरा फट्यांराहरू गुरहीबाट नास हुने विश्वास छ । उनीहरूले पछिल्लो पटक आएको ‘सहल’ किरा पनि फट्यांग्रा प्रजातिका रहेको र यो पर्वपछि उनीहरू नास हुने विश्वास व्यक्त गरेका छन् ।

गाउँभरीमा बासिन्दा एउटा चोकमा जम्मा भइसकेपछि चोकमा उम्रेको ‘कुश’ एक सासमा उखेलेर केटाहरूले केराको पातेडाँठ, कुशको सोंटा (कोर्रा) हिर्काउने र महिलाहरूले आफूले कपडाको बनाएर ल्याएका ‘गुरही’ अथवा गाइने किरा त्यसै ठाउँमा फाल्ने चलन छ । कुश उखेलेपछि निस्किएका ति किरा र सर्पहरूलाई पुरुषहरूले पिटेर धपाएको विश्वास रहेको थारु युवा माधव चौधरीले बताए ।

यसरी पिटेर किरा धपाइसकेपछि पुरुषहरूले महिलाहरूसंग मकै, मटर र चनाको भुजा ‘घुघ्री दे, घुघ्री दे’ भन्दै मागेर खाने चलन छ । महिलाहरूले गाइने किराको आकृति बनाएर ल्याएको ढकिएमा यि खानेकुराहरू समेत राखेर ल्याएका हुन्छन् ।

पश्चिमका देउखरिया र देसाउरिया थारु समुदायले यो पर्व मनाउने गरेका छन् । उनीहरूसंग पछिल्लो समयमा डगौराथारु समुदायले पनि गुरही मनाउन थालेका छन् ।

पछिल्लो समयमा धनगढी लगायतका शहरी क्षेत्रमा गुरही पर्वलाई उत्सवको रुपमा औपचारिक कार्यक्रम गरी मनाउन थालिएको छ । पछिल्ला केही पर्वयता धनगढीमो क्याम्पस चोकमा धनगढीमा बसोबास गर्ने थारु समुदायले साँझको समयमा औपचारिक कार्यक्रम आयोजना गरेर मनाएपछि यस वर्ष कोरोना भाइरसका कारण त्यसरी मनाउन पाएनन् । उनीहरूले त्यहाँ सीमित मान्छेहरू जम्मा भएर विधि अनुसार पुजा गरेर मनाएको सखी सञ्जालकी अध्यक्ष उन्नती चौधरीले बताइन् ।

थारु समुदायले यो पर्वलाई रोपाई पछिको र वर्षमै पहिलो चाडको रुपमा मनाउने गरेको उनले बताइन् । थारु समुदायले ‘गुरही’ बाटै वर्षको चाड मनाउन शुरु भएको विश्वास गर्छन् र कतिपय थारु गाउँमा यसै दिन रोपाई सकेको खुशियालीमा ‘हरडहुवा’ खाने पनि चलन थियो ।

यो पिटाईपछि डराएर विषालु किरा र सर्पहरू एक वर्षका लागि नफर्कने थारु समुदायमा विश्वास छ । यसका साथै किराहरूसंगै रोगव्याधीहरू पनि टाढिने विश्वास थारु समुदायमा रहेको थारु अगुवा प्रभातकुमार चौधरीले बताए । ‘यसरी पिटीरहेको ठाउँमा कपडाले बनाएको गाइने फाल्दा त्यसैसंग रोग पनि सतिजाने विश्वास छ,’ उनले भने, ‘थारु समुदायमा गाइने किरा (गुरही) लाई संकटको प्रतिकको रुपमा मान्ने गरिन्छ ।’

गुरही सेलाउनाले साना बालबालिकाहरूमा लागेको आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने विश्वास रहेको उनले बताए । गाउँमा भएको दुःख, संकट वा दैविक, प्राकृतिक विपत्ती समेत टाढिने जनविश्वास रहेको उनले बताए ।

थारु अगुवा लाहुराम चौधरीले यस पर्वदेखि पृथ्वीको तापक्रम घट्ने भएकाले सर्प लगायतका विषालु किरालाई विदा गर्न यो पर्व मनाइएको बताए । उनका अनुसार जाडोमा सर्प र विषालु किराहरू कठ्यांग्रिएर मर्ने भएकाले उनीहरूलाई पटालमा बस्न पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार