१० श्रावण २०८१, बिहीबार

एम्बुलेन्स खरिदबारेको छानबिन प्रतिवेदनमाथिको छलफल अघि बढेन



धनगढी । एम्बुलेन्स खरिद सम्बन्धी छानबिन गरि सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रारम्भिक प्रतिवेदनमाथिको छलफलमा अवरोध आएको छ ।

लेखा समितिका केही सदस्यहरुले उपसमितिको प्रतिवेदनमाथिको छलफल शुरु गर्नुअघि पूर्ण समितिमा समिक्षा हुनुपर्ने अडान राखेपछि छलफल प्रक्रिया अघि बढ्न सकेको छैन ।

सार्वजनिक लेखा समितिका सभापति नन्दा कुमारी बमको संयोजकत्वमा गठित उपसमितिले एम्बुलेन्स खरिदबारेको छानबिन गर्दा विधि, प्रक्रिया र पद्दति मिचेर काम गरेको आरोप समेत लगाएका छन ।

शुक्रबार बसेको सार्वजनिक लेखासमितिको ७४ औं बैठकमा समितिका सदस्यहरु मानबहादुर धामी, बलबहादुर सोडारी, बल्देव रेग्मी र अम्मरबहादुर साउदले उपसमितिले प्रक्रियागत ढंगले प्रतिवेदन पेश नगरेकोले पूर्ण समितिमा समिक्षा गरेर मात्रै छलफल अघि बढाउने अडान राखेका थिए ।

समितिको बैठकमा सदस्य धामीले प्रश्न गरे– उपसमितिले प्रतिवेदन तयार गर्दा कुन विज्ञसंग छलफल ग¥यो वा कोठाभित्रै बसेर तयारी पारियो ?’

उनले प्रतिवेदन पेश गर्ने प्रक्रियामै त्रुटी देखिएको दाबी गर्दै यसबारे उपसमितिले समितिको पूर्ण बैठकमा जवाफ दिनुपर्ने माग गरे ।

समितिका अर्का सदस्य रेग्मीले भने– अहिले हामीले जसरी काम गरिरहेका छौं, भोली त्यो ‘सिस्टम’ बन्न सक्छ । त्यसैले हामीले विधि, प्रक्रिया र पद्दतिलाई ध्यानमा राखेर काम गरौं ।

सदस्य रेग्मीले उपसमितिबाट भएका गल्तीहरुको पूर्ण समितिमा छलफल गर्न माग गरे । भने– उपसमितिले पूर्ण समितिमा प्रतिवेदन पेश नगर्दै, सञ्चार माध्यममार्फत प्रतिवेदन सार्वजनिक भइसकेको छ ।

उनले ‘अब कस्ता बैठकमा सञ्चारकर्मीलाई सहभागि गराउने वा नगराउने भन्नेबारे पनि सोच्न आवश्यक रहेको’ बताए ।

बैठकमा सभापति नन्दाकुमारीले हतारहतारमा प्रतिवेदन ल्याएको स्वीकार गरिन् । उनले प्रतिवेदन तयारी गर्दा विशेषज्ञहरुसंग छलफल गर्न नपाएको पनि बताइन । उनले भनिन–विशेषज्ञहरुका लागि सचिवालयले बजेट उपलब्ध नगराएपछि मन्त्रालयले उपलब्ध गराएको कागजपत्रकै आधारमा हामीले प्रतिवेदन तयार गरेका हौं ।

उनले प्रतिवेदन ल्याउने क्रममा कुनै प्रक्रिया, पद्दति नअपनाइएको भए सच्याउन तयार रहेको बताइन ।

बैठकमा उपसमितिका सदस्य मनाकुमारी साउदले “प्रतिवेदन अपरिपक्व तयार गरिएको” स्वीकार गरिन । उनले भनिन्– हामी (उपसमिति) ले एम्बुलेन्स खरिद प्रक्रियाबारे जसरी अध्ययन गर्नुपर्ने थियो, त्यसरी भएको छैन । न त हामीले विशेषज्ञहरुसंग नै छलफल गर्यौं ।

यसैबीच, लेखासमितिको शुक्रबारको बैठकमा समितिका सदस्य अम्मरबहादुर साउदको संयोजकत्वमा गठन गरिएको उपसमितिले सामुदायिक सिचाईं परियोजनाको प्रारम्भिक प्रतिवेदन समितिमा पेश गरेको छ ।

समितिमा पेश भएका प्रतिवेदनमाथि कहिले छलफल अघि बढ्छ भन्ने बैठकले टुङ्गो लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार