कोरोना संक्रमित गर्भवतीका लागि महिला होल्डिङ र आइसोलेसन सेन्टर

धनगढी । कोरोना भाइरसबाट संक्रमित गर्भवतीका लागि नेपालमै पहिलो पटक धनगढीमा नमुना महिला होल्डिङ र आइसोलेसन सेन्टरको शुभारम्भ गरिएको छ।
धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित होल्डिङ सेन्टरको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी र नगरप्रमुख नृपबहादुर वडले बिहीबारब संयुक्त रुपमा उद्घाटन गरेका छन्। उद्घाटन गर्दै स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले अन्य समयको तुलनामा कोभिड–१९ को बेला सबैभन्दा बढी समस्या गर्भवतीलाई हुने भएकोले नमुना आइसोलेसन सेन्टरले धेरै सहयोग गर्ने बताए।
धनगढी उपमहानगरपालिका- १ स्थित बी पोलिटेक्निक इन्स्टिच्युमा महिला होल्डिङ र आइसोलेसन सेन्टरमा कोरोना पोजिटिभ र ननपोजिटिभ गरी दुई प्रकारले व्यवस्थापन गरिएको नगरप्रमुख वडले बताए। उनले महिला होल्डिङ र आइसोलेसन सेन्टरमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र व्यवस्थापक सम्पूर्ण कर्मचारी महिला नै रहने बताए।
के छ आइसोलेसनमा व्यवस्था?
महिला होल्डिङ सेन्टरमा कोरोना नलागेका गर्भवती महिलालाई छुट्टै बस्ने व्यवस्था गरिएको छ। जहाँ १० बेडसहित खाना, बस्न लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध रहेको छ। त्यस्तै महिला आइसोलेसनमा कोरोना संक्रमित तर लक्षण नदेखिएका गर्भवतीलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको छ।
गर्भवतीलाई खाना, बस्न, अतिरिक्त पोषण खानाको व्यवस्था, हेरालुको लागि छुट्टाछुट्टै बस्ने व्यवस्था, बालबालिकालाई खेल्ने सामग्रीसहित अभिभावकसँगै बस्ने व्यवस्था गरिएको छ। जहाँ कोरोना पोजिटिभका लागि १२ बेडको व्यवस्थापन गरिएको छ भने हेरालुका लागि छुट्टै ३ बेडको व्यवस्था रहेको छ।
सेन्टरमा गर्भवतीलाई अस्पतालसम्म लैजान अथवा अस्पतालबाट होल्डिङ सेन्टरसम्म लग्न २४ सै घण्टा एम्बुलेन्स सेवा, नियमित चेकजाँच लागि २४ सै घण्टा स्वास्थ्यकर्मी सेवा लगायतका अन्य सुविधा समेत रहेको छ।