१७ बैशाख २०८१, सोमबार

चार महिनापछि लकडाउन खुकुलो, मजदूरहरू भन्छन्– गुजारा चलाउनै गाह्रो भो



धनगढी । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन चार महिनापछि खुकुलो भएको छ । लामो समयको लकडाउनका कारण यातायात, व्यापारव्यवसाय, उद्योग कलकारखाना, विद्यालय सबै तहसनहस भएका छन् । दैनिक ज्यालादारीमा गुजारा गर्ने मजदूर, साना व्यवसायीहरुले निकै कठिनाई भोग्नुपरेको छ ।

लकडाउनको अवधिमा स्थानीय तहहरु तथा सरकारी तथा विभिन्न संघसंस्थाका साथै निजी क्षेत्रले गरिब, विपन्न, मजदुरहरुलाई लक्षित गरि राहत गरेका थिए । तर, विपन्न समुदाय, मजदुरसहितका लक्षित समुहले भने निकै कम राहत प्राप्त गरेको गुनासो गरिरहेका छन् ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ की रतरानी देवी चौधरीले भनिन्– लकडाउन चार महिना भयो, तर सो अवधिमा २० किलो चामल मात्र पाए ।

मुक्त कमैया वस्तीका बासिन्दाहरुको मुख्य पेसा नै दैनिक मजदूरी हो । सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गर्नेहरु निकै समस्यामा परेका थिए । मजदुरहरुले सरकारले वितरण गरेको राहत हुनेखानेले पनि पाएको, तर वास्तविक लक्षित वर्ग र समुदायले निकै थोरै राहतबाट गुजारा गर्नुपरेको गुनासो गरे ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा स्थित कत्था मुक्त कमैया शिविरमा बस्ने ३६ परिवारले १० दिन पुग्ने गरी समेत राहत नपाएको गुनासो गरे । ‘लकडाउनमा घर खर्च चलाउन सापटी लिएको रकम अहिले तिर्न मुस्किल परेको छ’ शिविरका ममता देवी डगौराले भनिन् ।

शिविरकी अधयक्ष रतरानी देवीले वडा कार्यालयबाट एक परिवारलाई १० किलो चामल, दाल तथा नुन, तेल पाएको बताइन् । लकडाउनका बेला दुई दिनसम्म भोकै बसेको स्मरण गर्दै उनले भनिन्– साहुकहा काम गरेको पैसा पनि रोकिएपछि कतै ऋण खोज्न जाने अवस्था समेत थिएन । बस्तीकै समुहबाट सापटी लिए, तर ब्याज समेत तिर्न गाह्रो भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णबहादुर बोहराले बढी समस्यामा रहेकाहरूलाई प्राथमिकतामा राखेर सबैलाई समान रुपमा राहत पु¥याउने कोशिस गरेको दावी गरे ।

उनले पहिलो चरणमा प्रत्येक परिवारलाई २० किलो चामल तथा नुन, तेल वितरण गरिएको र दोश्रो चरणमा समस्यामा परेका व्यक्तिहरू छनौट गरी सोही अनुसार राहत उपलब्ध गराइएको बताए ।

यसैबीच, केही संघसंस्थाले मुक्त कमैया परिवारहरूलाई राहत उपलब्ध गराएका छन् । बुधबार कमैया प्रथा उन्मुलन समाजले मुक्त कमैया शिबिरमा राहत सामग्री वितरण गरेको बताइएको छ । समाजले प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल र नुन तथा सेनिटरी प्याड उपलब्ध गराएको कमैया प्रथा उन्मुलन समाजका कार्यक्रम संयोजक सुरज परियारले बताए ।

उनले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थित मुक्त कमैया शिविर, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकामा रहेको मुक्त कमैया शिविरहरुमा राहत वितरण गरेको जानकारी दिए ।

उनका अनुसार जोशीपुर गाउँपालिका वडा नम्बर ३ का तीन सय ८० र कैलारी गाउँपालिका वडा नम्बर ७ का एक सय ३३ घरपरिवारलाई राहत वितरण गरेको बताए ।

त्यस्तै, कैलारी र जोशीपुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई पनि खाद्यान्न सहयोग गरिएको छ । कार्यक्रम संयोजक परियारका अनुसार जोशीपुरमा ४० र कैलारीमा ७० जना क्वारेन्टाइनमा रहेकाहरुलाई राहत उपलब्ध गराइएको छ ।

कमैया प्रथा उन्मुलन समाजले कैलारीमा सात क्विन्टल चामल, १५ पोका नुन, ३५ लिटर तेल, ७० पिस सावुन र ७० किलो दाल तथा जोशीपुरमा चार क्विन्टल चामल, २० लिटर तेल, ४० पिस सावुन र ४० किलो दाल वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार