१७ बैशाख २०८१, सोमबार

एक वर्षमा अख्तियारको १२ वटा स्ट्रिङ अपरेशन



धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयले पछिल्लो एक वर्षको अवधिमा १२ वटा स्टिङ्ग अपरेशनमा सफलता पाएको छ ।

ती अप्रेशसनमा २१ जनालाई नगद सहित रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरूबाट १३ लाख ७० हजार एक सय रुपैया बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका सूचना अधिकारी हरिश जोशीले जानकारी दिए ।

अख्तियार अनुसन्धान आयोग महेन्द्रनगर कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा मालपोत कार्यालय टीकापुरका नायबसुब्बा सिंहबहादुर सिंह र खरिदार नरराज पाण्डेयलाई लालपुर्जाको प्रतिलिपी बनाए वापत आठ हजार रुपैया घुस सहित पक्राउ गरिएको थियो । आयोगले गत आर्थिक वर्षमा गरेको यो पहिलो स्ट्रिङ्ग अपरेशन थियो ।

त्यस्तै, आयोगले यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह, अधिकृत भुवन जोशी र जयराज कारिगरलाई मारुती सुजुकी कार नामसारी गरि दिएवापत एक लाख ६६ हजार एक सय रुपैया घुससहित पक्राउ गरेको थियो ।

त्यस्तै, सबडिभिजन वन कार्यालय विपीनगरका अधिकृत सुरेशचन्द्र डिसी छुटपुर्जी सिफारिस सहज गराई दिएवापत तीन लाख २६ हजार रुपैया घुस सहित पक्राउ गरेको थियो ।

आयोगका अनुसार सशस्त्र प्रहरी बल भजनीका प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र रतिराम चौधरीलाई मालसामान आउन दिएवापत २० हजार रुपैया घुस सहित पक्राउ गरिएको थियो । त्यस्तै, ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी जवान दिपक चौधरीलाई घुसवापतको पांच हजार रुपैया सहित पक्राउ गरिएको थियो ।

आयोगले शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीका ईन्जिनियर त्रिलोक जोशीलाई भवन निर्माणको ठेक्का सम्झौता र म्याद थप लगायतका काम गरेवापत दुई लाख ५० हजार रुपैया सहित पक्राउ गरिएको आयोगका शाखा अधिकृत जोशीले बताए ।

त्यस्तै, मालपोत कार्यालय कञ्चनपुरका खरिदार ललिता रोकायालाई जग्गा नामसारी गरेवापत एक लाख ५० हजार रुपैया सहित पक्राउ गरिएको थियो ।

आयोगले धनगढी–१२ को सिद्धार्थ सामुदायिक वनका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष प्रेम सिंहलाई एक लाख ६० हजार रुपैया घुस लिएको आरोपमा पक्राउ गरेको थियो । भने जलस्रोत तथा सिंचाई विभाग डिभिजन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख ईन्जिनियर सुरेशराज भट्ट चमेलिया कानीखोला तटबन्ध नियन्त्रण निर्माण कार्यको सम्झौताका क्रममा एक लाख रुपैया सहित आयोगको फन्दामा परेका थिए ।

त्यस्तै, ईलाका प्रहरी कार्यालय मसुरीया, कैलालीका प्रहरी नायव निरिक्षक दिलबहादुर महरा र सामुदायिक वनका अध्यक्ष बृखबहादुर धामीलाई एक स्थानीय दम्पतिको घरायसी झगडा मिलाउन लिएको ५० हजार घुससहित नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्की र कानुन व्यवसायी हिमालयबिक्रम बिष्ट थुनामा रहेकालाई छुटाउने भन्दै लिएको ५० हजार रुपैया सहित पक्राउ गरिएको थियो ।

गत आर्थिक वर्षको असारमा आयोगले कैलालीको जोशीपुर गाउ“पालिकाका नायवसुब्बा सिद्धराज जोशीलाई ८५ हजार रुपैया घुस सहित पक्राउ गरेको थियो ।

आयोगका सूचना अधिकारी जोशीले आयोगले स्टिङ अपरेशनमा गत वर्ष निकै सफलता पाएको बताए । उनका अनुसार विगतका वर्षमा स्टिङ्ग अपरेशनको सफलता दर ६५ प्रतिशत रहेकामा गत आर्थिक वर्षमा ८८ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार