११ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम प्रदेशमा कोरोनाः नयाँ संक्रमित भेटिने दरमा कमी आएन



धनगढी । मुलुकका अन्य प्रदेशमा कोरोना भाइरस संक्रमितका नयाँ केस भेटिने क्रममा केही कमी आए पनि सुदूरपश्चिम प्रदेशमा अझैं कमी आउन सकेको छैन ।

संघीय स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर कोरोना संक्रमितको संख्या पाँच हजार चार सय ७७ मा झरेका छ । सुदूरपश्चिम प्रदेशमा अहिले पनि एक हजार आठ सय ६९ कोरोना संक्रमित रहेका छन् ।

कोरोना संक्रमित निको हुने दर कम तथा नयाँ संक्रमित भेटिने दर बढि भएकाले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या अझैं पनि अन्य प्रदेशको तुलनामा अधिक रहेको छ ।

देशका अन्य छ वटा प्रदेशमा कोरोना संक्रमितको संख्या छ सयको हाराहारीमा रहेको छ भने सुदूरपश्चिम प्रदेशमा भने कोरोना संक्रमितको संख्या एक हजार आठ सय बढी रहेको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेशमा तीन हजार नौ सय ९८ जना कोरोना संक्रमित भेटिएकोमा दुई हजार एक सय २९ जना मात्रै निको भएर घर फर्किएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमण देखिएका १७ हजार नौं सय ९४ जनामध्ये १२ हजार चार सय ७७ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट ४० जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु भएका मध्ये ८ जना सुदूरपश्चिमका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर मंगलबार एक सय ५० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । मंगलबार सुदूरपश्चिममा ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

मंगलबार कैलालीका ४, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिकाका सात पुरुष र चार महिला गरी ११ जना, शुक्लाफाँटा नगरपालिकाका पाँच पुरुष र एक महिला गरी ६ जना, लालझाँडी गाउँपालिकाका तीन पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वरप्रसाद गौतमले जानकारी दिए ।

प्रवक्ता डाक्टर गौतमले कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ११ का दुई पुरुष र एक महिलामा समेत कोरोना पुष्टि भएको बताए । उनले बझाङको जयपृथ्वी नगरपालिका वडा नम्वर ३ का दुई महिला र एक पुरुष तथा छव्वीसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले प्रदेशका कोरोना संक्रमण खतरा र त्रास यथावत रहेको बताए । उनले भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमेलीहरूको फर्किने क्रम जारी रहेकाले कोरोना संक्रमित भेटिने क्रम नरोकिएको बताए । उनले प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरूमा मात्रै कोरोना संक्रमण देखिएकाले हालसम्म समुदायमा कोरोना फैलिन नपाएको बताए ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार हालसम्म क्वारेन्टाइनमा चार हजार आठ सय ३९ पुरुष र एक हजार सात सय ९१ महिला गरी छ हजार छ सय ३० जना बसेका छन् । हालसम्म ३० हजार आठ सय ९८ जनाको थ्रोट स्वाव संकलन गरिएको मा २९ हजार दुई ७१ जनाको जाँच गरिएको छ ।

कोरोना संक्रमण पुष्टी भएका विरामीहरूलाई टीकापुर अस्पतालमा २१, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटीमा २, मालाखेती अस्पतालमा ३ र बाँकीलाई सम्बन्धित स्थानीय तहले सञ्चालन गरेको आइसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ । सेती अस्पतालमा भने एक जना डिस्चार्ज भएपछि मंगलबारदेखि कोरोनाका विरामी संख्या शुन्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार