१७ बैशाख २०८१, सोमबार

दार्चुला पहिरो: दाजुभाइकाे मृत्यु, तीन घाइते



दार्चुला । दार्चुलामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा घर पुरिएर दुई जनाको मृत्यु भएको हाे।

घर माथिबाट पहिरो खसेर च्यापिएका लेकम गाउँपालिका ५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडासदस्य केशवसिंह धामीले जानकारी दिए। उनीहरुको घरभित्रबाट शव निकालिएको छ।

यस्तै घटनामा परी घर धनी ३५ वर्षीया लक्ष्मी ढोली, ९ वर्षीय छोरा शुभम र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन्। तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए।

घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकाेप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदमबहादुर विष्टले जानकारी दिए। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो। पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजु भाइ हुन्।

उनीहरु गौरा पर्वको लागि लुगा सिउने कामको लागि शंकरपुरपस्ती आएका हुन्। घाइतेहरुको अहिले शंकरपुर स्वास्थ्य चौकी पस्तीमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार