१६ बैशाख २०८१, आईतवार

एनआइसी एसियाको सुपर चमत्कारिक कर्जा



धनगढी । एनआईसी एशिया बैंकले घर निर्माण, व्यवसाय सञ्चालन र गाडी किन्नको लागि सुपर चमत्कारीक कर्जा कार्यक्रम लागू गरेको छ ।

एनआइसी एसिया बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा आठ दशमलव २५ प्रतिशत ब्याजदरमा गाडी खरिद गर्न तथा व्यवसाय सञ्चालन र घर निर्माण वा खरिदका लागि कर्जा उपलब्ध गराइने जानकारी दिइयो । सो बैंकका अनुसार यो कर्जामा सून्य दशमलव २५ प्रतिशत प्रशासनिक शुल्क लाग्ने जनाएको छ ।

सुपर चमत्कारिक ग्राहकले घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बैंकका प्रदेश कार्यालय प्रमुख टेकराज भट्टले सुपर चमत्कारिक कर्जा न्यूनतम पाँच वर्षदेखि अधिकतम ३० वर्षका लागि प्रदान गरिने बताए । उनले सो कर्जामा अधिकतम एक करोड ५० लाख रुपैयाँसम्म कर्जा सीमा कायम गरिएको बताए । उनले भने– यो कर्जा अन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने छ ।

एनआइसी एसिया बैंकका अनुसार सो कर्जा कार्यक्रममा घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम पाँच वर्षसम्मको मोराटोरियम लिन सकिने र मोराटोरिएम अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ ।

सो अवसरमा वितरित प्रेस विज्ञप्तीमा “फेक्जिबल इएमआई मार्फत ग्राहकहरूले आफनो आर्थिक क्षमता अनुसारको आफुले तिर्नसक्ने इएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्ने” उल्लेख छ ।

त्यस्तै, यस योजना अन्तर्गत घर कर्जा उपभोग गरिरहेका ग्राहकहरूले बन्डल अफर अन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्था समेत रहेको जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ग्राहकले समेत कर्जा स्वाप गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीको लागि ग्राहकहरूले कर्जा प्राप्त गर्न सक्नेछन् ।

अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेका महानुभावहरूले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत आफनो कर्जा स्थानान्तरण स्वाप गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत अधिकतम दुई करोड रुपैया कर्जा सीमा कायम गरिएको प्रदेश कार्यालय प्रमुख भट्टले बताए । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले दाबी गरेको छ ।

यसअन्तर्गत उद्योगी तथा व्यवसायीहरूले आफनो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफट मिश्रित रुपमा उपभोग गर्न सक्ने र यस्तो कर्जा सीमा अधिकतम एक करोड रुपैयासम्म निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार