१० श्रावण २०८१, बिहीबार

साँफे-मार्तडी सडक २ सातादेखि अवरुद्ध, तत्काल सुचारु नहुने



बाजुरा । बाजुरा खण्डको साँफे–मार्तडी सडक तत्काल सुचारु नहुने भएको छ। तत्कालका लागि पुरानै सडकलाई सामान्य मर्मत गरेर बाटो सुचारु गर्ने भनिए पनि थप सडक भासिएपछि तत्काल सञ्चालन नहुने भएको हाे।

द्धवारी, बल्दे क्षेत्रको करिब एक किलोमिटर सडक पहिराले भाँसिएको छ। सडक मर्मतका लागि सडक डिभिजन कार्यालय साँफेबगरले डोजर प्रयोग गरे पनि सडकको अवस्था सुधार्न नसकिएको इञ्जिनीयर दमनकुमार विष्टले जानकारी दिए। बुढीगङ्गा नदीको कटान र लगातारको वर्षाका कारण पहिरो नरोकिँदा बाटो सुचारु गर्न थप समस्या देखिएको हो।

बल्दे क्षेत्रबाट १०० मिटर जति बाटो नयाँ कटान गरिए पनि द्धवारी क्षेत्रबाट थप पहिरो गएको छ भने अम्कोटको गाउँ तल पर्ने भागको सडकमा पनि पहिरो गएर सडक भाँसिएको छ। साता दिनभित्र अवरुद्ध बाटो सुचारु गर्ने गरी कामकाे सुरुवात गरिए पनि सञ्चालनमा समस्या देखिएको डिभिजन कार्यालय प्रमुख ललित खनालले बताए।

शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे नेतृत्वको टोलीले अवस्थाबारे जानकारी लिएको थियाे। सडक डिभिजन कार्यालय प्रमुख ललित खनालसहित बाजुराका स्थानीय तहका व्यक्तिसहितको टोलीले बाटोको अवस्थाबारे जानकारी लिनुका साथै सञ्चालको उपायबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए।

द्धवारी मन्दिर नजिकैको खोलाबाट अर्को बाटो निर्माण गर्ने की भन्ने विकल्पबारे छलफल भए पनि पुनः पहिरो गएकै क्षेत्रमा अल्पकालीन उपाय निकाल्ने र दीर्घकालीन समाधानका लागि पहल जारी राख्ने विषयमा छलफल गरिएको छ। निर्माण गरिएको एकतिरको सडकसमेत पहिरोमा भाँसिएपछि तत्काल सञ्चालन हुने अवस्था देखिएको छैन। 

सडक पहिरोले भाँसिएपछि दुईसाता दिनदेखि साँफे मार्तडी सडक पूर्णरुपमा बन्द भएको छ। सवारीसाधन मार्तडीबाट द्धवारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन्। सडक अवरोध हुँदा पैदलयात्रा गर्न पनि निकै समस्या भएको छ। बुढीगङ्गा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ। पैदलयात्रा लागिसमेत जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार