१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोनाः २२ जना नयाँ संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहिबार थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा १४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा आठ गरी २२ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा डडेल्धुराकै आठ जनामा संक्रमण पुष्टि भएको छ ।

यता सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार आठ पुरुष र छ महिलासहित १४ जनामा कोरोना पुष्टि भएको हो ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ का दुई महिला र दुई पुुरुष गरी चार जना, कैलालीकै गोदावरी नगरपालिका दुई पुरुष र एक महिला गरी तीन जना, कैलालीकै धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का एक पुरुष र एक महिला गरी दुई जना, कैलालीकै टिकापुर नगरपालिका वडा नम्बर १ का एक पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

कञ्चनपुरको बेदकोट नगरपालिका एक महिला र एक पुरुष गरी दुई जना, कञ्चनपुरकै भिमदत्त नगरपालिका वडा नम्बर ४ का एक पुरुष र बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ एक महिलामा कोरोना पुष्टि भएको उनले बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा सेती अस्पतालको प्रयोगशालामा एक सय ६९ जनाको कोरोना परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार