१० श्रावण २०८१, बिहीबार

विप्लव समूहका नेता ओमप्रकाश पुन पक्राउ



धनगढी । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती–महाकाली व्युरो इन्चार्ज ओमप्रकाश पुन (निर्वाण) सहित दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । पुन विप्लव नेकपाका केन्द्रीय सदस्य पनि हुन् ।

प्रहरीले उनीसंगै अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) का सेती–महाकाली व्युरो इन्चार्ज गौरा धामी (पूर्णिमा) लाई पनि पक्राउ गरेको जनाइएको छ ।

प्रहरीको विशेष टोलीले केन्द्रीय सदस्य पुन र महिला संगठनका व्युरो इन्चार्ज गौरालाई बुधबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बेलीगाउँबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

प्रहरीले उनीहरु सवार प्रदेश २–०३–००छ प ९५९७ नम्बरको मोटरसाइकल तथा एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली पनि बरामद गरेको जनाएको छ ।

कैलाली प्रहरीले केही दिनअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२, जुगेडाबाट विप्लव नेकपाका छ जना कार्यकर्तालाई पक्राउ गरेको थियो ।

नेपाल सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ ।

नेता पुन जनयुद्धकालका पनि झण्डै चार वर्ष जेल बसेका नेता हुन । पक्राउ पर्नु भएका पुन दाङको तुल्सीपुर उपमहानगरपालिका ९ का बासिन्दा रहेका पुनले ०६२/०६३ को आन्दोलनमा जनमोर्चाको कैलाली जिल्ला अध्यक्षकारुपमा काम गरेका थिए ।

जेलबाट छुटेपछि जनमोर्चा भएका पुन जनमोर्चा फुटेर एकता भएपछि फेरि तत्कालिन माओवादीमा जोडिएका थिए । प्रचण्ड नेतृत्वको माओवादी फेरि विभाजन भएपछि उनी विप्लव समूहमा संगठित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार