१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा करिब ९२ प्रतिशत रोपाई पुरा



धनगढी । सुदूरपश्चिम प्रदेशमा यस वर्ष समयमै धान रोपाई भएको छ । समय मै धान रोपाई भएका कारण यस वर्ष धान उत्पादनमा आशातीत बृद्धि हुने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि निर्देशनालयले अहिलेसम्म प्रदेशभरी करिब ९२ प्रतिशत धान रोपाई पुरा भइसकेको जनाएको छ । निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै यस वर्ष समयमै वर्षा भएको र सिंचाईं सुविधा समेत विस्तार भएका कारण समयमै धान रोपाई सम्भव भएको जनाएको छ ।

कृषि निर्देशक यज्ञराज जोशीले प्रदेशका विभिन्न जिल्लाहरूबाट प्राप्त जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा असार २८ गतेसम्म ९१ दशमलव ५३ प्रतिशत धान रोपाई भइसकेको बताए ।

सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा वर्षेनी एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष असार २८ गतेसम्म एक लाख ६२ हजार दुई सय ३० हेक्टर (९१.५३ प्रतिशत) क्षेत्रफलमा रोपाई भइसकेको छ ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक जोशीले भने– समय मै वर्षा भएको र सिँचाईं सुविधा पनि विस्तार भएकोले समयमा रोपाई हुँदा यसवर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । उनले असार मसान्तभित्र प्रदेशमा सतप्रतिशत जग्गामा रोपाईं भइसक्ने बताए ।

सुदूरपश्चिम प्रदेशमा विगतका वर्षहरूमा साउन महिनाको तेस्रो सातासम्म पनि रोपाइ हुने गरेको थियो । गत वर्ष साउन महिनासम्म सुदूरपश्चिम प्रदेशमा ९६ प्रतिशत रोपाईं भएको थियो ।

प्रदेश कृषि निर्देशनालयले यस वर्ष बढिजसो किसानले राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइ“ गरेका छन् ।

कृषि निर्देशक जोशीले यस वर्ष समयमै मनसुन सक्रिय भएका कारण किसानले राहत महसुस गरेको बताए । उनले भने– विगतका वर्षहरुमा साउनको तेस्रो सातासम्म पनि रापाई हुने गरेकोमा यस वर्ष प्रदेशमा असार महिना मै रोपाईं पुरा हुने छ । आकासे पानीको भरमा रोपाई हुने अधिकांश ठाउँमा पनि रोपाई भएको छ ।

धान उत्पादनको उर्बरभूमिका रुपमा रहेका सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा सबैभन्दा बढि रोपाई सकिएको छ ।

असारको पहिलो सातासम्म कञ्चनपुरमा सबैभन्दा कम १५ प्रतिशत मात्रै रोपाई भएको थियो भने कैलालीमा १७ प्रतिशत रोपाई भएकोमा महिनाको अन्तिम सातासम्म कञ्चनपुरमा ९६ दशमलव ५० प्रतिशत क्षेत्रफलमा धान रोपाई भइसकेको छ ।

त्यस्तै, कैलालीमा असारको २८ गतेसम्म ९३ दशमलव ५० प्रतिशत क्षेत्रफलमा धान रोपाईं भइसकेको छ ।

प्रदेश कृषि निर्देशनालयका अनुसार हालसम्म अछाममा १६ हजार पाँच सय ८० हेक्टर खेतीयोग्य जमिनमध्ये १४ हजार ९३ हेक्टर (अर्थात ८५ प्रतिशत) मा रोपाई भइसकेको छ ।

त्यस्तै, डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाई हुँदै आएकोमा हालसम्म आठ हजार नौ सय ३६ हेक्टर (८२ प्रशित) मा रोपाइ भएको छ ।

कैलालीमा ७१ हजार सात सय १५ हेक्टरमा धान रोपाईं हुदै आएकोमा ६७ हजार ५३ हेक्टरमा रोपाइ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुदै आएकोमा ४६ हजार छ सय ८१ हेक्टर क्षेत्रफलमा रोपाईं भइसकेको निदेृशनालयले जनाएको छ ।

त्यस्तै, डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टर क्षेत्रफलमा धान रोपाई हुदै आएकोमा यस वर्ष हालसम्म पाँच हजार छ सय तीन (९० प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । भने दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुदै आएकोमा यस वर्ष अहिलेसम्म तीन हजार नौ सय ४२ (८८ प्रतिशत) हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ ।

त्यस्तै, बाजुरामा ८० प्रशितत, बझाङमा ८५ र बैतडीमा ९० प्रतिशत क्षेत्रफलमा रोपाई भईसकेको छ । बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाई हुदै आएकोमा पाँच हजार सात सय ७६ हेक्टरमा रोपाई भईसकेको छ ।

बझाङमा सात हजार एक सय १० हेक्टरमा धान रोपाई हुदै आएकोमा ६ हजार ४३ हेक्टरमा रोपाई भइसकेको छ भने बैतडीमा नौ हजार हेक्टरमा धान रोपाई हुदै आएकोमा आठ हजार एक सय हेक्टरमा रोपाई भइसकेको छ ।

यसपाली मनसुन चाडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीले बताए । “यसपाली समयमै रोपाई सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार