७ कार्तिक २०८१, बुधबार

कर्तव्य ज्यान मुद्दाका शिक्षकलाई तलब भत्ता, अख्तियारले गर्यो मुद्दा दायर



धनगढी । बैतडीको जसलिंग प्राथमिक विद्यालयका तत्कालीन शिक्षक/प्रधानाध्यापक महानन्द कपाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोत व्यक्ति हरिनाथमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरु दोषी ठहर भएपछि काठमाडौं विशेष अदालतमा विगो माग दावीसहित आरोप पत्र दायर गरेको हो ।

जिल्ला शिक्षा कार्यालय वैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी, पूर्व जिल्ला शिक्षा अधिकारी, स्रोत व्यक्ति समेतको मिलेमतोमा जशलिंग प्राथमिक विद्यालयका शिक्षक महान्द कपाडी कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएपश्चात निजलाई निलम्बन नगरी बिद्यालयबाट पाउने तलब भत्ता सुबिधा प्रदान गरेको पाइएको जनाइएको छ ।

अख्तियारले अनुसन्धान गर्दै जाँदा महानन्दले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज र श्रोतव्यक्ति हरिनाथसमेतको सहमतिमा ८१ हजार नौ सय रुपैयाँ सरकारी रकम बुझी लिएको देखिएको जनाइएको छ ।

अख्तियारले उनीहरुबिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम ८१ हजार नौ सय रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को दहाय खण्ड (ग) बमोजिम सजाय गरी र सोही ऐनको दफा १७ बमोजिम हिनामिना गरेको बिगो असुलउपर गरी पाउन मागदाबी लिई आरोप पत्र दायर गरेको जनाएको छ ।

यस्तै, बैतडीकै बटैराज प्राथमिक विद्यालयका तत्कालीन शिक्षक/प्रधानाध्यापक रतन सिंह भण्डारी र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरु दोषी ठहर भएपछि काठमाडौं विशेष अदालतमा विगो माग दावीसहित आरोप पत्र दायर गरेको हो ।

जिल्ला शिक्षा कार्यालय वैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी, पूर्व जिल्ला शिक्षा अधिकारी, स्रोतव्यक्तिसमेतको मिलेमतोमा विद्यालयका शिक्षक रतन सिंह भण्डारी कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भएपश्चात निजलाई निलम्बन नगरी बिद्यालयबाट पाउने तलब भत्ता सुबिधा प्रदान गरी भ्रष्टचार गरेको भनी मुद्दा दायर गरिएको अख्तियार कार्यालयले जनाएको छ ।

रतनले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा ८३ हजार एक सय रुपैयाँ सरकारी रकम बुझी लिएको देखिएको सो आरोप पत्रमा उल्लेख छ ।

‘बटैराज प्राथमिक विद्यालयका तत्कालीन शिक्षक÷प्रधानाध्यापक रतन सिंह भण्डारी र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसुर गरेको देखिंदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम बिगो ८३ हजार एक सय रुपैया कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को दहाय खण्ड (ग) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना गरेको बिगो असुलउपर गरी पाउन मागदाबी गरिएको छ’ सो आरोपपत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार