१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीः स्वाब संकलनको गति सुस्त



धनगढी । कोभिड–१९ परीक्षणको दायरा बढाउनुपर्ने चौतर्फी आवाज उठिरहेका बेला सुदूरपश्चिम प्रदेशमा स्वाब नमुना संकलनको गति पुनः सुस्त भएको छ ।

आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शंकास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमितको सम्पर्कमा आएकाको मात्र नमूना संकलन गर्नुपर्ने पछिल्लो पटकको मापदण्ड पालना गर्नुपर्ने भएकाले स्वाबको नमुना संकलनमा कमी आएको प्रदेशका सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई दिनमा जम्मा ६०१ जनाको मात्र स्वाब नमुना संकलन हुनसकेको छ । दुई हप्ता अघिसम्म दैनिक पांच सयदेखि छ सयसम्म शंकास्पद व्यक्तिको स्वाब नमुना संकलन हुने गरेको थियो । पर्याप्त नमुना संकलन हुननसकेको र यसअघि परीक्षणका लागि संकलित नमुनाको चाप पनि कम हुदै गएको छ ।

शनिबारसम्म जाँच गर्नुपर्ने नमुना ९११ मात्र बाँकी छन् ।

सुदूरपश्चिम प्रदेशमा गत जेठ महिनादेखि कोरोना संक्रमण दर निरन्तर उकालो लागेको थियो । पछिल्ला तीनचार दिनदेखि भने संक्रमण दर पहिलेको तुलनामा कम हुदै गएको तथ्यांकले देखाएको छ ।

शनिबार कञ्चनपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ७५८ पुगेको छ । त्यस्तै, सुर्खेतस्थित प्रयोगशालामा गरिएको नमुना परीक्षणमा सुदूरपश्चिम प्रदेशका १० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

जिल्लागत रुपमा हालसम्म कैलाली ९९४, अछाम ५९२, बैतडी २९८, बझाङ १५९, बाजुरा ४४६, डडेलधुरा २६९, दार्चुला १९, डोटी ५३५ र कञ्चनपुरमा ४४६ जना संक्रमित पुगेका छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले भारतबाट आउनेहरूको संख्या र क्वारेन्टिनमा बसेकाहरूको संख्या घट्दै गएका कारण कारणले संक्रमण दर घटेको बताए । उनले भने– सीमामा आइपुग्नेहरू को, कहाँ गइरहेका छन् भन्ने यकिन जानकारी नहुँदा पछिल्ला दिनमा स्वाब संकलनमा पनि कमी आएको छ ।

आगामी चार÷पाँच दिन भित्रमा प्रदेशका सबै क्वारेन्टिनमा बसेका शंकास्पद व्यक्तिको स्वाबको नमुना संकलन गर्ने गरी तयारी गरिएको निर्देशक डाक्टर अवस्थीले जानकारी दिए । सीमा नाकाबाट आउनेहरूको उचित व्यवस्थापन नभई पछिल्ला दिनमा आफूखुसी ढंगले गन्तव्यमा जाने गरेको देखिएकाले संक्रमण अब समुदायमा देखिने जोखिम रहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रदेशमा शनिबारसम्म कोरोना भाइरसका कारण आठ जनाको मृत्यु भएको छ । प्रदेशमा पहिलो पटक गत चैत १४ गते पहिलो कोरोना संक्रमित भेटिएका थिए । गत वैशाख महिना सुरु हुँदासम्म पाँच जना संक्रमित फेला परेकामा यसपछिको झण्डै एक महिनासम्म नया“ संक्रमणको दर स्थिर देखिएको थियो ।

छ जना नयाँ संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा आईतबार छ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । धनगढी र डडेल्धुरामा गरिएको परीक्षणका क्रममा चार जिल्लाका छ जनामा कोरोना पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका दुई जना र बझाङका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । यस्तै धनगढी प्रयोगशालामा कैलाली र दार्चुलाका तीन जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको मोहन्याल गाउँपालिका ३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए ।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६३ नमूना परीक्षण गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार