१० श्रावण २०८१, बिहीबार

जनकल्याणको नवौं स्थापना दिवस



टीकापुर । कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौं स्थापना दिवस मनाएको छ ।

सहकारीको सभाहलमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य प्रमुख अतिथि रहेका थिए ।

सहकारीका अध्यक्ष बद्रिप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष नृपराज भण्डारीले गरेका थिए भने संचालन व्यवस्थापक छबिलाल जैशीले गरे ।

कार्यक्रममा समाजसेवी भुवनेश्वर अधिकारी, सहकारीका सल्लाहकार तथा संस्थापक अध्यक्ष गणेशबहादुर साउँद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्र्दै प्रमुख अतिथि आचार्यले जनकल्याण सहकारीले टीकापुर क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै सहकारी प्रति टीकापुरबासीको विश्वास बढ्दै गैरहेको बताए । कार्यक्रममा सहकारी संस्थाको २०७७ असार २७ गतेसम्मको प्रगति विवरण सहकारीका व्यवस्थापक छबिलाल जैशीले प्रस्तुत गरेका थिए ।

सहकारीको प्रगति विवरण अनुसार ६३ लाख ८० हजार ३०० शेयरपूँजी रहेको छ । त्यसैगरी निक्षेप हिसाब १ करोड ५५ लाख ६५ हजार रहेको छ भने कर्जा लगानी २ करोड ७३ लाख ५ हजार रहेको छ । १७७ महिला र २९४ पुरुष गरी ४७१ जना शेयर सदस्य रहेको सहकारीबाट ८१ जना महिला र १०८ जना पुरुष गरी १८९ जनाले कर्जा कारोबार गरिरहेका छन् । कोरोना भाइरसको महामारीका बीचपनि आफ्नो सेवालाई निरन्तरता राखेको सहकारीले हाल एक दर्जन भन्दा बढी बचतका प्रकारहरु संचालनमा ल्याएको छ ।

दैनिक बचत, साधारण बचत, लखपति बचत, खुत्रुके बचत, बाल बचत, जेष्ठ नागरिक बचत लगायत १२ प्रकारका बचत योजनाहरु संचालनमा रहेको व्यवस्थापक जैशीले जानकारी दिए । सहकारीले बचतमा न्यूनतम ८ देखि १३ प्रतिशतसम्म व्याज दिनुका साथै कर्जामा १६ प्रतिशतसम्मको सहुलियत प्रदान गर्ने नीति लिएको जनाइएको छ ।

२०६९ साल असार २८ गते ४० जना स्थानिय युवाहरुले ७ लाख ५० हजार शेयर पूँजीमा सहकारीको स्थापना गरेका थिए । सहकारीले बेला बेलामा विभिन्न खालका सामाजिक क्रियाकलापहरु समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार