१० श्रावण २०८१, बिहीबार

पहिरोबाट विस्थापितहरुको विचल्ली



पहिरोबाट मृत्यु भएका छ जनाको सामुहिक दाहसंस्कार

परिवारै गुमाएका कटे जेठारा भारतबाट आउन सकेनन्

बझाङ । शनिबार विहान १ बजे गाउँको मध्ये भागमा पहिरो गएपछि विस्थापित भएका केदारस्यूँ गाउँपालिका‐८ मल्लेसीका १८ परिवारको विचल्ली भएको छ ।


लगाएको लुगा बाहेक घर सहित सबै पहिरोले बगाएपछि मल्लेसीका १८ परिवारलाई खान बस्न तथा लुगा कपडाको समस्या भएको हो ।

निरन्तर रुपमा पानी परिरहेकाले गाउँमा फेरि पहिरो जान सक्ने डरले पहिरोबाट बचेका घरहरुमा पनि गाउँलेहरु बस्न सकेका छैनन् ।


पहिरोबाट विस्थापित भएकाहरुलाई स्थानीय नवादेउ प्राथमिक विद्यालयमा व्यवस्थापन गरिएको भएपनि खान बस्न समेत समस्या भएको छ । मल्लेसी गाउँ जाने बाटो समेत अबिरल वर्षाका कारण स्थानीय बजार झोताबाट राहत सामाग्री समेत गाउँ पु¥याउन सकिएको छैन् ।

गाउँ नजिकै खाद्य सामग्री समेत नपाउने अवस्था आएपछि शनिबार विहानदेखि भोक भोकै बस्नु परेको पीडितहरुको भनाई छ ।


घर खेत बगाएर सुकुम्बासी बनेका स्थानीयहरुलाई नेपाल सरकारको गृह मन्त्रालयले हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर नजिकै रहेको भोपुर व्यारेकमा राहत सामाग्री छोडेको थियो ।

सो सामाग्री ढुवानी गरेर स्थानीय प्रशासनले केदारस्यूँ गाउँपालिकाको झोता बजारसम्म शनिबार साँझ पु¥याएको थियो ।


मल्लेसी गाउँ जाने जुइली गाड (खोला) मा समेत बाढी आएकाले राहत सामग्री पु¥याउन कठिनाइ भएको छ । स्थानीय सुरेश जेठाराले भने, “बाहिरबाट गाउँमा आउन निक्कै समस्या छ, बाटो छैन् ।

शनिबारदेखि पहिरोबाट विस्थापित मात्र होइन गाउँका अरु ६५ परिवार समेत पहिरो जाने डरले आफ्नो घरमा बस्न सकेका छैनन् ।”


पहिरोमा परेर छ जनाको पहिरोमा मृत्यु भएकोमा एक जना अझैसम्म बेपत्ता छन् । विद्यालयमा रहेकाहरुलाई सामुहिक रुपमा खानाको व्यवस्था गरिएको र घड्यान गाउँमा गएकाहरुलाई त्यहाँका स्थानीयले खाने र बस्ने व्यवस्था गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पहिरो पीडितहरुका लागि भनेर नेपाली सेनाको हेलिकप्टरबाट आठ क्विन्टल चामल, ३७ वटा त्रिपाल र ४० वटा कम्मल घटना स्थलमा पु¥याइएकोे बताए ।


उनले थप राहत पुगाउने व्यवस्था भइरहेको बताउनुभयो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको लागि तत्काल क्रिया खर्च बाफत ३५ हजार रुपैयाँ गाउँपालिकाले दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताए ।

यस्तै पहिरोले २० परिवारका ११० पशु चौपाय मरेका छन् ।

पहिरोबाट मृत्यु भएका छ जनाको सामुहिक दाहसंस्कार


पहिरोबाट मृत्यु भएका छ जनाको आज गाउँलेहरुले सामुहिकरुपमा दाहसंस्कार गरेका छन् । हिन्दु संस्कार अनुसार स्थानीय आर्यघाटमा सामुहिक अन्त्यस्टी गरिएको छ ।


शनिबार बिहान १ बजे गाउँमाथिको रातो पड सामुदायिक वनबाट पहिरो खसेपछि एकै घरका चार सहित छ जना घरसंगै पहिरोमा पुरिएका थिए भने एक जना बेपत्ता छन् ।

४४ वर्षीया राममती जेठारा र उनकी १५ वर्षीया छोरी शान्ती जेठारा, ११ वर्षीया छोरा प्रयागराज जेठारा र ७ वर्षे छोरी अस्मीता जेठाराको दाह संस्कार गरिएको हो ।

यस्तै सोही गाउँका नवराज जेठाराकी १२ वर्षीय छोरी सन्तु जेठारा र ८० वर्षका दले जेठाराको पनि दाहसंस्कार गरिएको छ ।


पहिरोमा हराएका २० वर्षीय गिरीजा जेठाराको खोजी भइरहेको प्रहरी नायब उपरिक्षक गणेश वमले जानकारी दिए ।


परिवारै गुमाएका कटे जेठारा भारतबाट आउन सकेनन्


आफ्नो श्रीमाति र तीन बच्चा सहितको परिवारै पहिरोबाट गुमाउदा पनि अन्दाजी ४८ वर्षीय कटे जेठारा भारतको उत्तराखण्ड राज्यको पिथौरागढबाट फर्किन सक्नु भएको छैन ।


रोजगारीको शिलशिलामा भारतमा रहनु भएका कटै नेपालको बैतडी र भारतको सीमावर्ती क्षेत्र झुलाघाट नाकामा रोकिएका छन् ।

सीमा वन्द गरिएकोले उनी श्रीमति र वच्चाहरुको दाहसंस्कारमा सामेल हुन सकेनन् । उनी सीमा खुलेपछि घर जान्छु भनेर झुलाघाटमा रोकिएको उनका आफन्तहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार