१० श्रावण २०८१, बिहीबार

विधि र प्रक्रिया मिचेर बैठक सञ्चालन गरियो– प्रतिपक्षी



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठक जबरजस्ती सञ्चालन गरिएपछि आक्रोशित प्रतिपक्षी दलहरूले सभामुखको सो कार्यशैलीलाई असंवैधानिक तथा विधि र प्रक्रियाविपरित भएको आरोप लगाएका छन् ।

चर्को नाराबाजी र विरोधबीच प्रदेश सभा बैठक सञ्चालन गरिएलगत्तै प्रतिपक्षी दलहरू नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले आयोजना गरेको संयूक्त पत्रकार सम्मेलनमा ‘सभामुखले संविधान, विधि र प्रक्रिया मिचेर बैठक सञ्चालन गरेको’ आरोप लगाए ।

पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता रणबहादुर रावलले भने– ‘हामी सदनमा विरोध गरिरहेका छौं । सभामुखले नसुने झै गरेर बैठक अघि बढाए । आर्थिक मामिला तथा योजना मन्त्रीले भटाभट पढेर प्रस्ताव पेश गरे । प्रतिपक्षी दलका सांसदहरूले विरोध गरिरहेको देख्दादेख्दै पनि सभामुखले ‘हुन्न भन्ने आवाज सुनिएन भनेर प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरे ।
‘यो गणितीय दम्भ हो’– उनले थपे ।

प्रतिपक्षी दलहरूले ‘पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्ने, संक्रमितलाई आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने, जनतालाई सुरक्षाको प्रत्याभुति दिनुपर्ने’ लगायतका माग राख्दै सदन अवरोध गरिरहेका छन ।

बुधबारदेखि प्रतिपक्षी दल र सरकारबीच छलफल जारी भए पनि सहमति भने हुन सकेको छैन ।

प्रमुख प्रतिपक्षी दलका नेता रावलले ‘सरकारले हाम्रा माग कार्यान्वयन गर्छु भनेर प्रत्याभुति नदिएसम्म सदन चल्न नदिने’ दोहोराए । उनले भने–सरकारले हाम्रा माग पुरा गर्छु त भनेको छ, तर विश्वास दिलाउन सकेको छैन ।

उनले सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ९३ करोड रुपैयाँ खर्च गरेको जानकारी दिइएको बताए । उनले सरकारलाई लक्षित गर्दै सवाल उठाए– सरकारले ९३ करोड रुपैयाँ खर्च गरेको भनेको छ । अहिलेसम्म कति वटा पिसिआर मेसिन कहाँ स्थापना गर्यो । कति जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गर्यो । कुन क्वारेन्टाइन व्यवस्थित बनायो ?

प्रतिपक्षी दलहरूले ‘सरकारले क्वारेन्टाइनमा बसेकाहरूलाई परीक्षण रिपोर्ट नआउँदै घर पठाएर घरपरिवार तथा समाजमा त्रास र जोखिम बढाएको’ आरोप दोहोराए । नेता रावलले भने– हामीले सरकारलाई पटकपटक यस्तो नगर भनेर सचेत गराएका थियौं, तर सरकारले कहिल्यै पनि हाम्रा कुरा सुन्ने चासो नै दिएन । बाध्य भएर सरकारमाथि दबाव बढाउन अहिले सदन अवरोध गरिरहेका छौं ।

पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका नेता कृष्णबहादुर चौधरीले पनि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढंगले काम गरोस भनेर दबाब दिन सदन अवरोध गरिरहेको बताए । उनले भने– हामीले बजेट तथा योजनाका लागि विरोध गरेका होइनौं । जनताको सुरक्षामा सरकार गम्भिर बनोस्, पिसिआर चेकजाँचको दायरा बढाइयोस् भनेर दबाब दिइरहेका हौं ।

याे पनि हेर्नुहाेस्-

प्रतिपक्षी दलहरुले गरे सुदूरपश्चिम प्रदेशसभाको बैठकमा नाराबाजी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार