५ जेष्ठ २०८१, शनिबार

सुदूरपश्चिममा ४८९ मा काेराेना संक्रमण



धनगढी । सुदूरपश्चिममा एकै दिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको छ। दैनिक बृद्धिदरमा यो संख्या अहिलेसम्मकै बढि हो। धनगढीसहित विभिन्न प्रयोगशालामा भएको परीक्षणमा एकैदिन चार सय ८९ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ३५ पुगेको छ। देशका सात वटा प्रदेशमा सुदूरपश्चिम प्रदेश तेस्रोमा छ। सुदूरपश्चिम प्रदेशभन्दा बढि प्रदेश नम्वर ५ र प्रदेश नम्वर २ मा संक्रमित रहेका छन्। 

अन्य प्रयोगशालामा भएको परीक्षणमा कुन जिल्लाका कति नखुलेपनि धनगढीमा भएको परीक्षणमा पुष्टि भएका संक्रमितको जिल्ला र पालिका खुलेको छ। धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, चुरे गाउँपालिका दुई जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुई जनामा कोरोना पुष्टि भएको हो।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा कोरोना पुष्टि भएका सात जनाको मृत्यु भएको छ भने ६ सय ८० जना डिस्चार्ज भउका छन्। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार