२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिममा ३० करोडको लगानी सैपाल ग्यास स्थापना



धनगढी । कोरोना भाइरस (कोभिड १९) को कहरका कारण सारा उद्योगब्यवसाय प्रभावित भइरहेको बेला सुदूरपश्चिममा भने करोडौंको लगानी नयाँ ग्याँस कम्पनी बजारमा ल्याइएको छ ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा प्लाण्ट स्थापना गरी सैपाल ग्याँस प्रालिले बिहीबारदेखि सैपाल एलपी ग्याँस सिलिण्डर बजारमा ल्याएको हो । यो ग्याँस प्रालिले नेपाल आयल निगमबाट तीन महिनाअघि सञ्चालन अनुमति पाएको थियो ।

काठमाडौंस्थित एभरेष्ट ग्याँस गु्रप सञ्चालक रहेको यो ग्याँस प्रालिमा ३० करोडको लगानी रहेको प्रालिका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । ग्याँस प्रालिको दैनिक १० हजार वटा सिलिण्डर उत्पादन क्षमता रहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

अध्यक्ष घिमिरेका अनुसार उत्पादित ग्याँस सिलिण्डर सुदूरपश्चिम प्रदेशका नौ वटै तथा कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश ५ का दुई जिल्ला बाँके र बर्दियासम्म बजारीकरण गरिने छ ।

यो ग्याँस प्रालिमा ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । यसअघि कैलालीका पाँच जनाको स्वामित्वमा रहेको यो ग्यास प्रालिलाई एभरेष्ट ग्याँस गु्रप काठमाडौंले १८ करोडमा खरिद गरेको जनाइएको छ ।

सैपाल ग्यास खरिदपछि एभरेष्ट ग्यास गु्रपसँग ग्यास उद्योगको संख्या ७ पुगेको छ । पूर्वमा प्रिमा र कामाख्या, हेटौंडामा सहारा, काठमाडौंमा एभरेष्ट, धादिङमा सुगम, भैरहवा त्रिशूल ग्यास उद्योग रहेको एभरेष्ट ग्यास गु्रपका अध्यक्ष समेत रहेका घिमिरेले बताए ।

यो ग्यास प्रालिसँगै सुदूरपश्चिममा एलपी ग्यास उद्योगको संख्या दुई पुगेको छ । यसअघि गोदावरी नगरपालिकाको मालाखेतीमा रेडियन्ट एलपी ग्यासले प्लाण्ट स्थापना गरी बजारमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार