२३ बैशाख २०८१, आईतवार

सुदुरपश्चिम प्रदेशमा कोरोनाः थप ९६ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, बीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना संक्रमण देखिएको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा बाजुराका १६ महिला र ३२ पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता डाक्टर गौतमले जानकारी दिए ।

उनका अनुसार पाटन अस्पतालमा भएको परीक्षणमा डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ । भने वीर अस्पतालमा भएको परीक्षणमा डोटीका एक महिला र १४ पुरुष गरी १५ जना, बैतडीका एक पुरुष र अछामका एक महिलामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी धनगढीमा भएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ४४ वर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा धनगढीमा ३४ जनाको कोरोना परीक्षण भएको छ । यससँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या दुई हजार पाँच सय ३१ पुगेको छ ।

थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बाजुराका चार सय ६५, डोटीमा चार सय ४०, कञ्चनपुरमा तीन सय सात, डडेल्धुरामा दुई सय २९, बैतडीमा दुई सय १८, अछामका एक सय ६८, बझाङमा ७९ र दार्चुलामा १७ जनामा कोरोना पुष्टि भएको छ ।

पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ८८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक रेडक्रसकर्मीमा कोरोना संक्रमण

धनगढीमा नेपाल रेडक्रस सोसाइटी, कैलालीका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

धनगढी प्रयोगशालामा मंगलबार भएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ४४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलालीमा कार्यरत रहेका उनी कोरोना भाइरसको जोखिम नियन्त्रणका विभिन्न गतिविधिमा खटिँदै आएको बताइएको छ ।

नेपाल रेडक्रस कैलालीका सभापति उत्तम जोशीले कोरोना संक्रमण देखिएका कर्मचारीले सामाजिक दूरी कायम गर्दै सधैं मास्क लगायतका सुरक्षा सामग्री प्रयोग गरेर काम गर्ने गरेको बताए । सभापति जोशीले ती कर्मचारीमा कोरोना संक्रमण देखिएपछि रेडक्रस सोसाइटीमा काम गर्ने अन्य कर्मचारीको समेत परीक्षण गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार