२१ बैशाख २०८१, शुक्रबार

प्रदेश सभाको बैठक तेस्रो पटक स्थगित



धनगढी । प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथि छलफल गर्न बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक लगातार तेस्रो पटक स्थगित भएको छ ।

आईतवार दिउँसो ३ बजेका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सरकार र प्रतिपक्षीबीच सहमति नजुटेपछि सुचना टाँसेर स्थगित गरिएको हो । प्रदेश सभा सचिवालयले बैठकको समय शुरु हुनु पहिले नै सूचना टाँसेर प्रदेश सभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव राम धामीले सभामुखको आदेश अनुसार बैठक स्थगित गरिएको जनाए । बैठक स्थगित गर्नुको कारणबारे सूचनामा उल्लेख नगरिएपनि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गर्नुपरेको बताए ।
यसअघि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) ले कोरोना रोकथाम र नियन्त्रणका लागि ‘पिसिआर चेकजाँचको दायरा’ बढाउन र रोकोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको खर्च र राहत वितरणको खर्च सदनमा पेश गर्न माग गर्दै दुई पटा सदन अवरुद्ध गरेका थिए । सो विषयमा सहमति जुटाउन भन्दै प्रदेश सभाको बैठक आइतबार दिउँसो ३ बजेसम्म स्थगित गरिएको थियो ।
असार १ गते प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सभामा बजेट प्रस्तुत गरेपछि रातो किताव नछापिएकाले १० दिन ढिलो असार १० गते बजेटमाथि छलफल गर्न बैठक बोलाइएको थियो । बैठक शुरु हुने वित्तिकै प्रतिपक्षीले उभिएर विरोध जनाएपछि दुई पटक बैठक स्थगित भएको थियो ।
सरकार र प्रतिपक्षबीच सहमतीका लागि प्रयास जारी रहेको जनाइएको छ । उनीहरुबीच पटक पटक छलफल भएपनि सहमती जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार