२१ बैशाख २०८१, शुक्रबार

उपमहानगरपालिकाले लकडाउन अवधीको भाडा आधा छुट दिने



धनगढी । धनगढी उपमहानगरपालिकाले आफ्नो सपिङ कम्प्लेक्समा रहेका व्यवसायीहरुलाई आधा भाडा छुट दिने भएको छ ।

उपमहानगरपालिकाले आइतबार व्यवसायीहरुको छलफलको क्रममामा लकडाउन अवधीका तीन महिनाको भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो । नगरप्रमुख नृपबहादुर वडले चैत, बैशाख र जेठ महिनाको भाडा छुट दिने निर्णय गरेको जनाए । उनले लकडाउनका कारण ब्यावसाय ठप्प भएकोले उपमहानगरपालिकाले चैत ११ देखि असार १ गतेसम्मको भाडा छुट निर्णय भएको बताए ।
धनगढी उपमहानगरपालिकाले कार्यालय परिसरमा सपिङ कम्पेक्स बनाएर भाडामा लगाएको छ । कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले उपमहानगरपालिकाले सराहनीय निर्णय गरेको बताए । उनले अन्य सरकारी कार्यालय र संघसंस्थाहरुले पनि उपमहानगरपालिका जस्तै गरी भाडा मिनाहा गर्नुपर्ने बताए ।
यसैगरी नगर प्रमुख वडले उद्योग वाणिज्य संघ कैलाली, औषधी ब्यावसायी संघ, तरकारी ब्यावसायी संघ, किराना ब्यावसायी संघ तथा मदिरा ब्यावसायी संघका प्रतिनिधीहरुसं कोभिड–१९ को संक्रमण फैलिन नदिन छलफल गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउदा जोखिम बढेकोले नगरप्रमुख वडले ब्यावसायीहरुलाई पसलका अगाडी डोरी, रिङ वा चुनाको रेखा राखेर ग्राहकहरुको भौतिक दुरी कायम हुने वातावरण बनाउन आग्रह गरे । दुरी कायम नहुदा सबैतिर जोखिम बढेको उनले बताए । उनले व्यवसायीहरुलाई कडाईका साथ ग्राहकहरुबीचको दुरी कायम गराउन अनुरोध गरे ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष कुँवरले असार मसान्तको समयमा बजार पूर्णरुपमा लकडाउन गरेमा ब्यावसायीहरु मारमा पर्ने बताए । ‘ब्यावसायीहरुको ठूलो लगानी बजारमा हुन्छ। उठ्ने समय यही हो,’ अध्यक्ष कुँवरले भने, ‘अहिले लकडाउन गर्नुभन्दा ग्राहकको भौतिकदुरी कायम हुने गरी कारोवार गर्ने ब्यबस्था गरौं ।’
औषधी ब्यावसायी संघ कैलालीका अध्यक्ष जनकराज जोशीले गोदावरी, गौरीगंगामा लगायतका ठाउँमा स्थानीय सरकार, उद्योग बाणिज्य संघले लकडाउनमा कडाई गरेको अवस्थामा धनगढीमा पनि लकडाउनमा कडाई गर्न अवश्यक रहेको सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार