३१ बैशाख २०८१, सोमबार

सुदूरपश्चिम प्रदेश सभाः प्रतिपक्षी दलहरूद्वारा संसदमा अवरोध



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले अवरोध गरेका छन । कोरोना नियन्त्रणमा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए ।

बुधबारदेखि सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफल कार्यक्रम रहेको थियो ।

प्रदेश सभाको बुधबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले– ‘माननीय सदस्यहरू छैठौ अधिवेशनको १९ औं वैठकमाथिको कारबाही प्रारम्भ हुन्छ’ भनी घोषणा गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यहरू आ–आफनो सिटमा मौन अवस्थामा उभिएका थिए ।

पुन सभामुख थापाले आग्रह गरे– बजेटमाथिको छलफल प्रारम्भ हुने भएकोले यसको शुरुवात हुन बाँकी छ । त्यो हुने भएकाले पहिलो दिनमा केही आफनो कुरा राख्नु छ भने त्यहाँ हामी राखौला । आजको बैठक सञ्चालन गर्नका लागि समय उपलब्ध गराइदिन हुन म अनुरोध गर्दछु र आफनो आसन ग्रहण गरिदिन हुन माननीय सदस्यहरूसंग म अनुरोध गर्दछु ।

सभामुखको आग्रहपछि पनि प्रतिपक्षी दलका सदस्यहरू आआफ्नो सिट अगाडी मौन रुपमा उभिइरहेका थिए । ३० सेकेण्डपछि पुन सभामुखले बैठक सुचारु गर्न आग्रह गर्दै भने– माननीय सदस्यहरू यो असहमतिका कुराहरू सभामुखलाई जानकारी नै भएको छैन । के कारण हो बरु यसलाई पछि हामी छलफलबाट टुङ्ग्याउँला, छलफल गरौला । यो आजको पहिलो दिनको बैठक हो । बजेटमाथिको छलफल हुने यो बैठकलाई सुचारु रुपले सञ्चालन गर्नका लागि म माननीय सदस्यहरूलाई आग्रह गर्दछु । आजको यो बैठक अगाडि बढाउनका लागि, सञ्चालन गर्नका लागि तपाईहरू आफनो सिटमा आसन ग्रहण गरिदिनुहोस ।

दोस्रो पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलहरू मौन उभिएपछि पुनः सभामुखले भने– माननीय सदस्यहरू यसको कारण थाहा भएको छैन । कुनै एक जना माननीय सदस्यलाई आफना धारणा राख्न म अनुमति दिन्छु र बाकी माननीय सदस्यहरूलाई आसन ग्रहण गरिदिन हुन आग्रह गर्दछु ।

सभामुखको सो आग्रहपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदिय दलका नेता रणबहादुर रावलले सबैलाई बस्न हातको इशारा गरे ।

प्रमुख प्रतिपक्षी नेता डाक्टर रावलले आफनो धारणा राख्नु अघि मोबाइलमा भएको एउटा रेकर्ड आफनो अगाडि रहेको माइकमा बजाउन सभामुखसंग अनुमति माग्दै बजाए । उनले क्वारेन्टाइनमा रहेका एक जनासंग फोनमा पिसिआर टेष्ट नभएको गुनासोलाई सदनमा सुनाइरहेका थिए । स्पष्टसंग आवाज नबुझिन लागेपछि सभामुखले सो अडियोलाई बन्द गरि आफनो धारणा राख्न आग्रह गरे । उनले भने ‘त्यसलाई बन्द गरौं । आफनो धारणा राखौं । सुनिएको पनि छैन राम्रोसंग । कुरा राखौं ।

प्रमुख प्रतिपक्षी नेता रावलले ‘यसको आशय के भन्दा खेरी सुन्नुहोस’ भन्दै पुनः सो अडियो बजाए । तर, सभामुखले पुन मोबाइलको त्यो संवाद बन्द गर्न आग्रह गरे । नेता रावलले भने ‘एउटा सरकारको महत्वपूर्ण निकायले आज ९३ जना क्वारेन्टाइनमा भएकालाई आरडिटिबाट पोजेटिभर त्यसपछि गएर पिसिआरबाट पोजेटिभ भएकालाई ‘होम क्वारेन्टाइन’ मा बसाउ भनेर आदेश दिन्छ । त्यसको रेकर्ड पनि राख्नुहोस भनेर भनिन्छ ।’

उनले सुदूरपश्चिममात्र नभई देश नै कोरोना भाइरसका कारण त्रसित भइरहेको बताए । ‘यो सरकार भएको नभएको उपस्थिति छैन’ उनले भने– क्वारेन्टाइनको अवस्था दयनिय छ । सरकारले चाही यो गर्या छु, त्यो गर्या छु भनेर ठुल–ठुला भाषण ठोके पनि जनताको पक्षमा एउटा पनि काम नभएको हुँदा हामी प्रदेश सभा सदस्यहरू जनताका प्रतिनिधि भएकाले जनताको सुरक्षा, स्वास्थ्य लगायतका सवालमा सदनमा आवाज उठाउने बताए ।

‘आज क्वारेन्टाइन कन्सलटेसन क्याम्पका रुपमा स्थापित भएका छन । अनुगमन शून्य छ । केबल स्थानीय सरकारहरूले केही गरेका छन । त्यसमा बल पुग्ने काम पनि प्रदेश सरकारबाट भएको छैन’ उनले भने– समग्र सुदूरपश्चिममा भित्र–भित्र संक्रमण फैलिइरहेको छ, तर टेष्ट छैन ।

उनले चौथो पटकसम्म पनि नीति, कार्यक्रम, बजेट ल्याइन लाग्दा समेत आर्थिक अनियमितता बढ्नुका साथै जनताका पक्षमा काम हुन नसकेको गुनासो गरे । ‘योजना बन्ने, तर केही व्यक्तिहरूले प्रश्रय पाउने ?’ उनले भने– एम्बुलेन्स खरिद, अल्ट्रासाउण्ड खरिद लगायतमा आर्थिक अनियमितता र अहिले कोरोना भाइरसको नाममा भएका खर्चहरूको पनि यहाँ सदनमा स्पष्ट जानकारी चाहिन्छ ।’ उनले प्रदेश सरकारले पिसिआर मेसिन खरिद गर्न नसकेकोमा आक्रोस व्यक्त गरे । उनले प्रदेश सरकारले प्रदेश सभा सदस्यहरूलाई अपमान गरिरहेको बताए । भने– सरकारले सम्मान गर्न नसकेपनि अपमान गर्ने काम नगरोस । उनले सरकार नसच्चिएसम्म सदन चल्नमा सहयोग नगर्ने बताए ।

उनले धारणा राखिसकेपछि पुनः प्रतिपक्षी दलका सदस्यहरू सिटबाट उठे । उनीहरू उठिसकेपछि सभामुख थापाले बैठक सञ्चालन हुन नसकेको घोषणा गरे । उनले भने– अर्को बैठक २०७७ साल असार १२ गते शुक्रबार विहान ८ बजे बस्ने गरी आज (बुधबार) को बैठक स्थगित भएको घोषणा गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार