२२ बैशाख २०८१, शनिबार

रोपाईंको चटारोः सुदूरपश्चिममा हालसम्म २२ प्रतिशत रोपाई



धनगढी । सुदूरपश्चिम प्रदेशमा असारको पहिलो सातासम्म करिब २२ प्रतिशत धान रोपाई भएको छ ।

समयमै मनसुन भित्रिएका कारण यस वर्ष असार महिनाको पहिलो सातासम्म सुदूरपश्चिम प्रदेशमा ४० हजार दुई सय ४४ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा एक लाख ८१ हजार छ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । क्षेत्रीय कृषि निर्देशनालय, दीपायलका अनुसार असारको पहिलो सातासम्म २२ प्रतिशत क्षेत्रफलमा रोपाई भइसकेको छ ।

‘गत वर्ष असार महिनाको १५ गतेसम्म मात्र २२ प्रतिशत रोपाई हुनसकेको थियो । यस वर्ष समयमै मनसुन सक्रिय भएका कारण छिटो रोपाई शुरु भएको छ । आकाशे पानीको भरमा रोपाई हुने ठाउँहरूमा पनि रोपाई भइरहेको छ’ क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले भने– ‘यसपाली चाडो रोपाई सुरु भएकोले पनि सहज भएको छ । सिंचाई सुविधा पनि विस्तार भएकोले किसानहरूलाई आकाशे पानीको भर पर्नुपर्ने बाध्यता केही कम भएको छ ।’

प्रदेशका नौ जिल्लामध्ये सवैभन्दा कम रोपाई भने धानका लागि उर्वरभूमि मानिएका कैलाली र कञ्चनपुरमा नै भएको छ । कञ्चनपुरमा अहिलेसम्म प्रदेशका अरु जिल्लाको तुलनामा सबैभन्दा कम रोपाईं भएको छ । कञ्चनपुरमा अहिलेसम्म १५ प्रतिशत मात्रै रोपाई भएको छ ।

यस वर्ष अहिलेसम्म कैलाली पनि कम रोपाई हुने जिल्लामा परेको छ । कैलालीमा यस वर्ष असार महिनाको पहिलो सातासम्म १७ प्रतिशत मात्र रोपाई भएको निर्देशक जोशीले बताए । कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म सात हजार दुई सय ५६ हेक्टरमा रोपाई भएको छ । त्यस्तै, कैलालीमा ७१ हजार सात सय १५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म १२ हजार एक सय ९२ हेक्टरमा मात्र रोपाई भएको छ ।

पहाडी जिल्लाहरुमध्ये यस वर्ष अहिलेसम्म बाजुरामा सबैभन्दा बढी ४५ प्रतिशत रोपाई भएको निर्देशनालयको तथ्यांक रहेको छ । सात हजार दुई सय २० हेक्टरमा धानखेती हुने बाजुरामा तीन हजार दुई सय ४९ हेक्टरमा रोपाई सकिएको छ ।

त्यस्तै, अछाम र बैतडीमा ४०/४० प्रतिशत रोपाई भइसकेको छ । अछाममा धानखेती हुने १६ हजार ५ सय ८० हेक्टरमध्ये अहिलसम्म छ हजार छ सय ३२ हेक्टर जग्गामा रोपाई भइसकेको छ ।

त्यस्तै, बैतडीमा धान खेती हुने नौ हजार हेक्टरमध्ये तीन हजार छ सय हेक्टरमा रोपाई भएको कृषि निर्देशनालयका निर्देशक जोशीले जानकारी दिए ।

त्यस्तै, दार्चुला जिल्लामा अहिलेसम्म ३५ प्रतिशत रोपाई भइसकेको छ भने डोटी र वझाङमा २५/२५ र डडेल्धुरामा २० प्रतिशत भुभागमा धान रोपिएको निर्देशक जोशीले जानकारी दिए ।

उनका अनुसार दार्चुलामा चार हजार चार सय ४८ हेक्टरमा धान खेती हुने गरेकोमा एक हजार पाँच सय ६८, बझाङमा सात हजार एक सय १० मध्येमा एक हजार सात सय ७६ र डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धानखेती हुने गरेकोमा दुई हजार सात सय २५ हेक्टरमा रोपाई भएको छ । त्यसैगरी डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान खेती गरिदै आएकोमा एक हजार दुई सय ४५ हेक्टरमा रोपाई गरिएको छ ।

यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाई पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ ।

धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाई छ । ‘अवश्य पनि यसपाली समयमै रोपाई सकिन्छ । यसले उत्पादन बढ्छ । तर, यसपछि के हुन्छ भन्न सकिदैन’ उनले भने– अघिल्लो बर्षभन्दा पहिले नै धेरै रोपाई भईसकेको छ । यो कृषि क्षेत्रका लागि सकारात्मक हो । यसले उत्पादनमा वृद्धि गराउन मदत मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार