८ जेष्ठ २०८१, मंगलवार

व्यास,छांगरु र तिंकरमा खाद्यान्न अभाव नहुने



दार्चुला। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले  दार्चुलाको व्यास, छांगरु र तिंकर गाउँमा  खाद्यान्न अभाव हुन नदिन ‘ढुवानी बोलपत्र’ आह्वान गरेको छ।

सो कम्पनीका कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भीमबहादुर थापाले त्रिदेशीय सीमा क्षेत्र नजिकका ती गाउँमा खाद्यान्न ढुवानी गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिए। उनले सुर्खेतदेखि हेलिकप्टरमार्फत् २०० क्वीन्टल खाद्यान्न ढुवानी गर्न १५ दिने बोलपत्र आह्वान गरिएको बताए। 

दार्चुलाका व्यासीहरु कुञ्चा सरेपछि सो क्षेत्रमा खाद्यान्न अभाव हुने जनाउँदै सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा लगायतले वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हालै भेटगरी  खाद्यान्न ढुवानी गर्न माग गरेका थिए।

विगतमा व्यासका स्थानीयले चीनको ताक्लाकोट र भारतीय नाका हुँदै खाद्यान्न ढुवानी गर्दथे। लकडाउनका कारण नाका नाका बन्द छन्। अहिले व्यासीहरुले पुरानो मौज्दात खाद्यान्नको प्रयोग गरिरहेका व्यासका स्थानीय विमल बोहराले जानकारी दिए। उनले भने, ‘स्थानीय उत्पादन र विगतमा बाँकी  राखिएका खाद्यान्न उपभोग गरिरहेका छौँ ।’

सरकारले दार्चुलाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा पारित गरेपछि ती क्षेत्रलाई उच्च महत्व दिएको छ। सीमावर्ती क्षेत्रका आफ्ना नागरिकलाई खाद्यान्न समस्या हुन नदिन सरकारले अहिले महंगो मूल्यमा खाद्यान्न ढुवानी गर्न लागेको हो ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि हेलिकप्टरमार्फत् नै खाद्यान्न ढुवानी भएको थियो। नेपालतिर भएर गाउँ जान बाटो नभएपछि स्थानीयहरु व्यास कुञ्चा भारतीय बाटो हुँदै गएका थिए। बाटो नहुँदा खाद्यान्न ढुवानी गर्न नपाएका सर्वसाधारणका लागि  हेलिकप्टरमार्फत् खाद्यान्न ढुवानी गर्ने भएपछि स्थानीयसमेत खुसी छन् ।

व्यासको छांगरु र तिंकरमा वर्षमा एक पटकमात्रै खेती हुने गरेको छ। सो क्षेत्रमा आलु, फापर, उवा, कोदोजस्ता अन्नबाली फल्ने गर्छ। व्यासको छांगरुमा ११५  तथा तिंकरमा ६५ घरधूरीको बसोबास छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार