२३ बैशाख २०८१, आईतवार

निःशुल्क खाना तथा पानी कार्यक्रम स्थगित



धनगढी । रोयल कोलाबोरेटिभ्स प्रालिले निःशुल्क खाना तथा पानी वितरण कार्यक्रम स्थगन गरेको छ ।

रोजगारी गुमाएर भारतबाट स्वदेश फर्केका नेपालीहरूलाई सीमामा समस्या नहोस भनेर एक महिनाअघि निसर्ग अस्पतालको सहकार्य, धनगढी उपमहानगरपालिकाको प्राविधिक सहयोगमा डोकेबजारमा स्टल निर्माण गरि निःशुल्क खाना तथा पानी वितरण गर्ने कार्यक्रम अघि बढाएको थियो ।

सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रालिका संयोजक गजेन्द्र शाहीले भारतबाट फर्कने नेपालीको संख्या घट्दै गएपछि असार ६ गतेदेखि स्थगित गरेको जानकारी दिए ।

रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई निःशुल्क खाना तथा पानी वितरण गरेको जनाइएको छ ।

अध्यक्ष शाहीले कोरोनाका कारण रोजगार गुमाई भारतबाट आएका नेपालीलाई ६५ हजार छ सय तीन प्लेट खाना खुवाइएको बताए । उनले भने– घर नगएको महिना दिन बढी भइसक्यो । परिवारका सदस्यलाई जोखिममा पर्न नदिन धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीस्थित एक छुट्टै कोठा भाडामा लिई सेल्फ क्वारेन्टिनमा बसेर सहयोग गरेका छौं ।

जनस्तरबाट स्वःस्फुर्तरुपमा इच्छुक व्यक्तिबाट नगद नलिई आवश्यकीय खाद्य सामग्री संकलन गरी भारतबाट फर्किएका नेपालीलाई खाना र पानी खुवाउने कार्यक्रम गरिएको थियो । कोरोना सन्त्रासका कारण भारतबाट आएका नेपाली यात्रुलाई हेलाको दृष्टिकोणले हेरिने तथा उनीहरूलाई लामो दूरीको गन्तव्य स्थानसम्म पुग्न समस्या हुने भएकाले बसमा प्याकिङ खानाको समेत व्यवस्था गरिएको सदस्य देवेन्द्र जोशीले बताए ।

सदस्य जोशीले भने– खानपिनका साथै बिचल्लीमा परेकालाई उनीहरूका घरपरिवार, आफन्त र स्थानीय जनप्रतिनिधिसँग सम्पर्कका निम्ति निःशुल्क आपत्कालीन फोन सेवा उपलब्ध गराएका थियौँ ।

उनले अहिले भारतबाट आउने क्रम न्यून भएपछि कार्यक्रमलाई स्थगन गरिएको बताए । उनले भने –‘अहिले भारतबाट आउने क्रम कम भएकाले हामीले स्थगन गरेका छौं । अझै आवश्यक परे यो कार्यक्रमलाई अघि बढाउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार