२३ बैशाख २०८१, आईतवार

रातो किताब नछापिँदा बजेटमाथिको छलफल हुन सकेन



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रातो किताब छाप्न नसक्दा प्रदेश सभामा आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि छलफल नै शुरु हुनसकेको छैन ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न गरिएको लकडाउनका कारण बजेट प्रस्तुत भएको एक सातासम्म आर्थिक मामिला तथा योजना मन्त्रालयले रातो किताव छापेर ल्याउन नसकेपछि प्रदेश सभाको बैठक समेत प्रभावित भएको छ । लकडाउनका कारण बजेटको रातो किताब छपाइ भएर आउन ढिलाई भएकाले आइतबार बिहान ८ बजेका तोकिएको प्रदेश सभाको बैठक सोमबार बिहान ८ बजेसम्मका लागि सारिएको छ ।

प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले रातो किताब नआएकाले बजेटमाथि छलफल गर्न बोलाएको बैठक स्थगित गर्न परेको बताए । उनले आज (सोमबार) बिहान ८ बजे बस्ने बैठकमा एउटा विधेयकमाथि छलफल हुने बताए ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले रातो किताब नछापिएका कारण प्रदेश सभाको बैठक बस्न नसकेर बजेटमाथि छलफल गर्न ढिलाई भएको बताए । उनले आज (सोमबार) को बैठकमा स्थानीय तहका पदाधिकारीहरूको सेवासुविधा सम्बन्धी संशोधन विधेयकमाथि छलफल हुने कार्यसूचि आएको बताए । उनले आइतबार रातो किताव छापिएर आएको र सोमबार प्रदेश सभा सदस्यहरूलाई वितरण भएपछि बजेटमाथिको छलफल आरम्भ हुने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकार खगेन्द्र साउँदले रातो किताव छापिसकेको बताए । उनले कार्यक्रम पुस्तिका छाप्न बाँकी रहेको बताए । उनले छलफललाई सहज बनाउन रातो कितावको पिडिएफ मन्त्रालयको वेबसाइटमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार