२३ बैशाख २०८१, आईतवार

आइसोलेशन बेड भन्दा तेब्बर बढी कोरोना संक्रमित



धनगढी । सुदूरपश्चिम प्रदेशमा आइसोलेसन संख्याको तुलनामा तेब्बर बढी कोरोना संक्रमित पुष्टि भइसकेका छन् ।

सुदूरपश्चिम प्रदेशका १८ वटा अस्पतालमा अहिले तीन सय ३३ आइसोलेसन बेड रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार एक सय १४ जनामात्र आइसोलेसनमा रहेका छन् ।

आइतबार ७६ जना नयाँ व्यक्तिमा कोरोना पुष्टि भएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघि सकेको छ । प्रदेशमा एक सय ३४ जना निको भएर घर फर्किसकेका छन भने चार जनाको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सेती प्रादेशिक अस्पतालमा १६, टीकापुर अस्पतालमा २६, महाकाली अस्पतालमा ३५, अछाम जिल्ला अस्पतालमा १८, वयलपाटा अस्पतालमा चार जनालाई आइसोलेसनमा राखिएको छ ।

जिल्ला अस्पताल बझाङमा दुई, डोटीमा तीन, बैतडीमा दुई, गोकुलेश्वरमा एक, बाजुरामा १६, डडेल्धुरा अस्पतालमा २५, जोगबुडा अस्पतालमा एक, दार्चुला जिल्ला अस्पतालमा एक, सुदूरपश्चिम प्रहरी अस्पतालमा एक र मालाखेती अस्पतालमा १६ जनालाई आइसोलेसनमा राखिएको जनाइएको छ ।

प्रदेशमा सबैभन्दा बढी संक्रमित कैलालीमा रहेका छन । प्रदेशमा संक्रमित बढ्दै गएपछि स्थानीय तहहरूले अहिले आइसोलेसन बेड निर्माणमा लागि रहेका छन । स्थानीय तहसंगै प्रदेश सरकारले पनि थप आइसोलेसन बेड स्थापना गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले पहाडी जिल्लामा एक सय र तराईका जिल्लामा एक सय ५० शैयाको आईसोलेसन निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आइसोलेसन वार्ड निर्माणका लागि स्वास्थ्य कार्यालयलाई लागत स्टमेट पठाउन निर्देशन गरिने बताए ।

कार्कीले कोरोना संक्रमितलाई होल्ड तथा उपचार गर्न आईसोलेसन वार्ड निर्माण गर्ने तयारी थालिएको जानकारी दिए ।

स्वास्थ्य कार्यालयले स्थान छनौट तथा लागत स्टमेट तयार पारेर पठाएपछि सोही आधारमा बजेट माग गर्दै प्रदेशको मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगिने कार्कीले बताए ।

प्रदेश सरकारले अहिले सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा ५०÷५० शैयाको आईसोलेसन वार्ड निर्माण गरेको छ ।

थप ७६ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आइतबार ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौँमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

यता धनगढीस्थित पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

सेतीका अनुसार कैलालीका २९ जना, डोटीका पाँच जना, कञ्चनपुरका तीन जना बाजुरा, डडेल्धुरा र बैतडीका दुई/दुई जना रहेका छन् ।

योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २४ पुगेको छ ।

आईतवार धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिकाका १८ जनामा कोरोना पुष्टि भएको थियो । उनीहरूमध्ये सवैभन्दा वढी वडा नम्बर ९ का रहेका छन । त्यो वडाका ९ जना रहेका छन् ।

थपिएका १८ जना मध्ये ९ जना एकै वडाका दुई क्वारेन्टिनमा वसिरहेका रहेका छन् । वडा नम्बर ९ को भवनानी मावि र सरस्वती आधारभुत विद्यालयमा वसिरहेका छन् । क्वारेन्टिनमा वसिरहेका दुई परिवारलाई कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी धनगढीको वडा नम्बर ८ का ३ जना, वडा नम्बर २ का दुई/दुई जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वडा नम्बर ६ र ११ मा एक एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार