२० बैशाख २०८१, बिहीबार

धनगढीमा छलफल नगरेरै योजना छनौट



  • वडाले नै योजना सिफारिस गर्दा नागरिकको समस्या समेटिनेमा नगरसभा सदस्यको आशंका
  • कोरोनाका कारण औपचारिकता पुरा गर्न सकिन्नः नगर प्रवक्ता

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि नागरिकसंग छलफल नै नगरेर योजना छनौट गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरित धनगढी उपमहानगरपालिकाले वडाका टोल टोलमा नगएर वडा कार्यालयहरुमा बसेर योजना छनौट गरेको हो । उपमहानगरपालिकाको निर्देशन अनुसार वडाहरुले वडामै बसेर योजना बनाएर उपमहानगरपालिकालाई पठाई सकेको जनाएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ६, योजना तर्जुमा तथा कार्यान्वयनमा टोल टोलमा गएर नागरिकको सुनासो, सुझाव, समस्या र आवश्यकता सुनेर योजना छनौट गर्ने व्यवस्था गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनमा योजना छनौटको अर्को कुनै पनि डकुमेन्ट नआएको बेला प्रदेशका अन्य स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐनलाई नै आधार मानेर योजना छनौट गरेको भएपनि धनगढी उपमहानगरपालिकाले सो ऐन मिचेको हो ।

धनगढीको वडा नं. ३ का वडा अध्यक्ष बलबहादुर ऐरले उपमहानगरपालिकाले टोल भेला नगरी योजना सिफारिस गर्न पठाएको पत्र अनुसार योजना सिफारिस गरिएको बताए । उनले वडा सदस्यहरुलाई आफ्नो आफ्नो क्षेत्रको समस्याहरु समेटेर योजना बनाउन लगाएर योजना सिफारिस गरिएको बताए ।

धनगढी उपमहानगरपालिकाका एक जना नगर सभा सदस्यले वडाहरुले वडा अध्यक्ष र सदस्यहरुको बैठकबाट योजना छनौट गरी पठाएको बताए । उनले नागरिकहरुसंगको छलफल विना बनाइएको योजनाले नागरिकहरुको आवश्यकता र समस्यालाई समेट्न नसक्ने बताए । उनले योजना तर्जुमा तथा कार्यान्वयन मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन मिचेर बनाएको योजनाले उपमहानगरपालिकाको सन्तुलित विकासमा समेत सहयोगी नहुने समेत बताए । यस्तो योजनाले विकास अर्कोतिर लग्ने र नागरिकको आवश्यकता अर्कोतिर पर्न सक्ने उनको आशंका छ ।

सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहहरु मध्ये अधिकांशले टोल टोलमा गएर दुरी कायम र सरसफाईलाई ध्यान दिंदै नागरिकहरुसंग छलफल गरेर योजना छनौट गरेको बेला उपमहानगरपालिकाले संघीय सरकारले जमघट भेला गर्न रोक लगाएको भन्दै टोल भेला नगरी योजना छनौट गरेको दावी गरेको छ । धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले संघीय सरकारले नै भेला गर्न रोक लगाएको हुनाले उपमहानगरपालिकाले वडा कार्यालयबाट योजना सिफारिस गर्न भनेको बताए । उनले कतिपय वडाबाट योजनाहरु आइसकेको र कतिपय वडाबाट आउन बाँकी रहेको बताए । उनले कोरोना भाइरस संक्रमण हुन सक्ने भएकाले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटका लागि सबै औपचारिकता पुरा गर्न नसकिने बताए ।

दुरी कायम र सुरक्षा अपनाउँदै टोलमा टोल विकास समितिका अध्यक्ष र केही टोलबासी गरी ५/६ जनाको भेला गरी अधिकांश स्थानीय तहले योजना छनौट गरी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट तयार गरिरहेको जनाएका छन् । उनीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ६ को योजना तर्जुमा तथा कार्यान्वयन र योजना छनौटका सबै सात चरणहरु पुरा गरेर असार १० गते नगर तथा गाउँ सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी गरेको जनाएका छन् ।

कोरोना भाइरसको कारण स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ६ को योजना तर्जुमा तथा कार्यान्वयन र योजना छनौटका सबै सात चरणहरु पुरा गर्न असम्भव रहेको जिकिर गर्ने धनगढी उपमहानगरपालिकाले पनि असार १० गते नै नगर सभामा नीति तथा कार्यक्रम र बजेट गर्ने तयारी गरेको छ । अरु वर्षहरुमा उपमहानगरपालिकाकै हलमा नगरसभाहरु गर्दै आएको धनगढीले लकडाउनको कारण होटलहरु बन्द गरिएको अवस्थामा यस पटकको नगरसभा धनगढीको ओम पार्टी प्यालेसमा बोलाएको छ ।

कैलारीले साउन १ बाटै योजना कार्यान्वयन गर्ने

आर्थिक वर्ष २०७७/७८ को लागि नीति तथा कार्यक्रम र बजेट तयारीको अन्तिम चरणमा पुगेको कैलारी गाउँपालिकाले साउन १ गतेबाटै बजेट तथा योजनाहरु कार्यान्वयन गर्ने गरी विनियोजन विधेयक ल्याउने तयारी भएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले साउन १ गतेबाट मन्त्रालयहरुले योजना तथा बजेट कार्यान्वयन गर्न सक्ने गरी विनियोजन विधेयक ल्याएपछि कैलारी गाउँपालिकाले पनि सोही अनुसार विनियोजन विधेयक ल्याउने तयारी गरेको हो । गाउँपालिकाका अध्यक्ष लालुराम चौधरीले साउन १ गतेबाटै योजनाहरु कार्यान्वयन शुरु गर्ने गरी व्यवस्था मिलाउन लागिएको बताए ।

उनले वडा कार्यालयहरुले समेत साउन १ गतेबाट आफ्नो कार्यालयमा विनियोजन भएको बजेट कार्यान्वयन गर्न सक्ने बताए । उनले गाउँपालिकाबाट अख्तियारी लिनुपर्ने व्यवस्थाले शुरुको दुई/तीन महिना काम नगरै खेर जाने र आर्थिक वर्षको अन्त्यतिर कामको लोड पर्ने भएकाले सो व्यवस्था गर्न लागिएको बताए । उनले यो व्यवस्थाले आर्थिक वर्ष अन्त्यमा कामको चाप नपर्ने र अर्को बर्षका लागि योजना बनाउन पर्याप्त समय मिल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार