२३ बैशाख २०८१, आईतवार

कैलालीका कोरोना संक्रमित बस चालकः जसले एयर एम्बुलेन्स पर्खिदा पर्खिदै ज्यान गुमाए



धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको बुधबार साँझ मृत्यु भएको छ ।

अस्पताल स्रोतका अनुसार गोदावरी नगरपालिका– ४ का ४६ वर्षीय कोरोना संक्रमितको साँझ ७ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । चिकित्सकले उनलाई कडा खालको निमोनियासंगै कोरोनाको संक्रमणबाट मृत्यु भएको बताएका छन् ।

चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढि भइसकेको थियो । उनी बस मालिक हुन् । भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर बिभिन्न स्थानमा पुर्याउने क्रममा उनी संक्रमित भएका थिए । उनी कहिले आफै बस चलाउथे ।

कहिले बसको क्याविनमा चालकसंगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताईएको छ । कोरोनाको लक्षणदेखिएपछि उनी माया मेट्रो अस्पतालमा भर्ना भएका थिए । त्यहाँ सामान्य उपचारपछि घर गएका उनी संक्रमणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भए ।

नवजीवनको आईसियुमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई शनिवार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याईएको थियो । सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भईरहेको थियो । खराव मौसमका कारण नेपाल वायु सेवा निगमको सानो जहाज काठमाण्डौंबाट धनगढी आउन सकेन । बिहिबार उनको उद्दारका लागि निगमको सानो जहाज धनगढी आउदै थियो ।

अरुको उद्दार गर्दा गर्दै संक्रमित भएका उनको भने उद्दार हुन नपाएरै मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार