१६ बैशाख २०८१, आईतवार

कालापानी क्षेत्रका लागि पाँच करोड



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भारतद्वारा अतिक्रमित दार्चुलाको ब्यास क्षेत्र (कालापानी) को विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सभाको सोमबारको बैठकमा प्रस्तुते प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ बजेटमा ब्यास गाउँपालिकामा विकास निर्माणका काम अघि बढाउन विषेश प्राथमिकतासहित पाँच करोड रुपैयाँ विनियोजन गरेको उल्लेख छ ।

बजेट वक्तव्यमा संघीय सरकार र स्थानीय तहको समन्वयमा सो क्षेत्रमा सडक, पुल खानेपानी लगायतका भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्य जस्ता सार्वजनिक सेवा उपलब्ध गराउनका लागि पाँच करोड बजेट विनियोजन गरिएको उल्लेख छ ।

बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले दार्चुला जिल्लाको सिमावर्ती ब्यास गाउँपालिकामा संघीय सरकार र स्थानीय तहको समन्वयमा सडक, पुल खानेपानी लगायतका भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य जस्ता सार्वजनिक विकास र सहज सार्वजनिक सेवा उपलब्ध गराई प्रदेश सरकारको अनुभूति सहितको एकिकृत विकास गर्दै जान पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका थिए ।

चीन, भारत र नेपालको त्रिदेशीय नाका रहेको ब्यास गाउँपालिकाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै भारतले एकतर्फी रुपमा सडक निर्माण गरेपछि त्यसको ब्यापक बिरोध भइरहेको छ । नेपाल सरकारले भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।

संघीय सरकारको बजेटमा कालापानी सहित भारतद्वारा अतिक्रमित क्षेत्रको विकासका लागि बजेट बिनियोजन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार