१५ बैशाख २०८१, शनिबार

कोरोना संक्रमितहरूले भने– पर्याप्त खाद्यान्न देऊ



बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाको आइसोलेसनमा रहेका संक्रमितहरूले गाउँपालिकाले आफूहरूलाई पर्याप्त खाद्यान्न नदिएको र त्यो पनि गुणस्तरहीन रहेको गुनासो गरेका छन् ।

खप्तड छान्ना गाउँपालिकाको क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएका र नभएकालाई एउटै विद्यालयमा राखिएको छ । संक्रमितहरूले गाउँपालिकाले सडेकोे चामल उपलब्ध गराएको गुनासो गरे ।

उनीहरु भन्छन्– नजिक घर हुनेहरूले घरबाट खाना मगाउने गरेका छन् । तर, टाढा घर भएकाहरूले निकै समस्या भोगिरहेका छन् ।

‘पसलमा सामान किन्न खोज्दा हामीले छोएको पैसा लिदैनन्’ एक जना संक्रमितले भने– उधारो दिनुस् । निको भएपछि तिरौंला भन्दा पसलेले पत्याउँदैनन् ।

खप्तडछान्ना गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएका छ मध्ये पाच जना स्थानीय मेलतडी माध्यमिक विद्यालयमा बसिरहेका छन् ।

संक्रमितहरू राखिएको विद्यालयमै भारतबाट आएकाहरूलाई पनि राखिएको छ । क्वारेन्टाइनमा रहेका अन्यलाई पनि गाउँपालिकाले पर्याप्त खाद्यान्न उपलब्ध नगराएको गुनासो छ । छोरा, बुहारी र १० महिनाकी नातिनीसँगै क्वारेन्टाइनमा रहेकी सन्जा थापाले भनिन्, ‘चामल भए पनि दाल हुँदैन, नुन पनि सकिएको छ । गतिलो खाना नभएर बुहारीको दूध आउनै छोडिसक्यो । नातिनी पनि बिरामी छ ।

संक्रमित र आफूहरूले प्रयोग गर्ने धारा, चर्पी एउटै भएका कारण रोग सर्ने डर थपिएको क्वारेन्टाइनमा रहेका राजेन्द्रराज पाध्याले बताए ।

यो विद्यालयमा तनि दिनअघिसम्म संक्रमितसहित ७६ जनालाई राखिएको थियो । हाल आरडीटीमा नेगेटिभ देखिएकालाई घर पठाइए पनि पीसीआर रिपोर्ट आउन बाँकी रहेका २२ जना रहेका छन् ।

गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले गाउँपालिकाले सक्नेजति सबै कुराको व्यवस्था गरिदिएको बताए ।

खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मंगल सुनारले संक्रमित र क्वारेन्टाइनमा भएकाहरूलाई वडाले सक्नेजति सुविधा उपलब्ध गराएको बताए ।

खप्तडछान्ना गाउँपालिकाले केही दिनअघि बाहिरबाट आएका मानिसहरुलाई क्वारेन्टाइनमा नराखी सोझै घर पठाउने निर्णय गरेपछि विरोध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार