सरकारी कार्यालय अाजदेखि खुल्ने
काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेसँगै बन्द भएका सरकारी कार्यालय सोमबारदेखि खुल्ने भएका छन् । २८ जेठमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार दुई सिफ्टमा सञ्चालन हुने गरी सरकारी कार्यालय खुल्ने भएका हुन् ।
बैठकले १ असारदेखि बिहान ८ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय खोल्ने निर्णय गरेको थियो । गत ११ चैतमा देश लकडाउन भएसँगै सरकारी कार्यालय बन्द भएका थिए ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई सिफ्टमा कार्यालय खोल्ने गरी कार्यालय सञ्चालन गर्नेसम्बन्धी १३ बुँदामा ढाँचा तयार गरेको छ । बिहान ८ देखि दिउँसो १ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।
सरकारी कार्यालय खोल्दा कोभिड–१९ को संक्रमण फैलिन नदिन सुरक्षाका उपाय अवलम्बन गरिने भएको छ । मन्त्रालयले संक्रमण फैलिन नदिन जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आवश्यक प्रोटोकल बनाई लागू गर्ने, सवारीसाधनको उपलब्धता र प्रयोगका आधारमा कार्यालयसम्मको दूरीसमेतलाई विश्लेषण गरी व्यवस्थापन गर्ने, कार्यकक्षमा रहँदा पालना गर्नुपर्ने भौतिक तथा सामाजिक दूरीलगायतका जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड तथा प्रोटोकल तयार गरी लागू गर्नुपर्ने बताएको छ ।
त्यस्तै, कार्यालयमा आउने सेवाग्राहीले पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी प्रोटोकल कार्यालयको प्रवेश बिन्दुमा सबैले स्पष्ट देख्ने र बुझ्ने गरी राख्ने, कर्मचारीका लागि कार्यालयमा रहँदा आवश्यक पर्ने न्यूनतम स्वास्थ्य सामग्री व्यवस्था गर्ने र कार्यालय हाताभित्र हात धुनेलगायतको व्यवस्था गर्नुपर्ने निर्णय पनि मन्त्रालयले गरेको छ । सरकारी कार्यालय खोल्ने निर्णय भए पनि कोरोनाबाट जोगिन घर फर्केका ठूलो संख्याका कर्मचारी लकडाउनका कारण कार्यस्थलमा फर्किन सहज छैन ।