५ जेष्ठ २०८१, शनिबार

पाँच स्थानमा विओपी स्थापना



धनगढी । सशस्त्र प्रहरी बलले कैलालीका पाँच स्थानमा बोर्डर आउट पोष्ट (बिओपी) को स्थापना गरेको छ ।

भारतसँग सिमा जोडिएको कैलालीको १०१ किलोमीटर क्षेत्रभित्र पाँचओटा बिओपी स्थापना भएसंगै बिओपीको संख्या नौ पुगेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसाद तिमिल्सीनाले बताए ।

सीमा सुरक्षालाई दृष्टिगत गर्दै नेपाल सरकारको २०७६ मंसिर ३० गतेको मन्त्रीपरिषद्को निर्णयले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको ११४ वटा नयाँ बिओपिहरू स्थापना गर्ने निर्णय अनुसार कैलाली जिल्लामा ६ वटा बिओपिहरू स्वीकृत भएकोमा छ वटै स्थानमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सीनाले बताए ।

उनले स्वीकृत छ ओटा बिओपीमध्ये गत पुस ११ गते कैलारी गाउँपालिका वडा नम्बर ७ भुइँयाफाटामा बिओपी स्थापना गरिएको बताए ।

त्यस्तै जेठ २२ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटान, वडा नम्बर. १० जुगेडा, कैलारी गाउँपालिका वडा नम्बर. ३ खोनपुर, भजनी नगरपालिका वडा नम्बर. ७ हिक्मतपुर बिओपी स्थापना गरिएको बताउदै सशस्त्र प्रहरी उपरीक्षक तिमिल्सिनाले जेष्ठ ३० गते टिकापुर नगरपालिका वडा नम्बर. ८ श्रीलंकाटापुमा बिओपी स्थापना गरिएको बताए ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बिओपीको उदघाटन गरेका थिए ।

बिओपी उदघाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक बुढाथोकीले बिषम परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीहरूको काँधमा राज्य र जनताको सेवा र सुरक्षाको खातिर ठूलो जिम्मेवारी आएको हुँदा ब्यक्तिगत सुरक्षालाई ध्यानमा राखी अझ बढी अनुशासित एबं कर्तब्यनिष्ठ भई राष्ट्रसेवामा लाग्न निर्देशन दिए ।

उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अबैध चोरी निकासी पैठारी नियन्त्रण बिओपिको प्रमुख काम भएकोले ब्यवसायिक ढंगले कार्य क्षेत्रमा खटिन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार